सोमबार, असार ७ २०७८
काठमाडौं ०३:४०
वासिङटन डिसी 17:55

खेलकुद क्षेत्रमा गत वर्षभन्दा ६० करोड बढी बजेट, कार्यान्वयनको पक्ष फितलो

इनेप्लिज २०७२ असार २९ गते १५:३४ मा प्रकाशित

image.php0000काठमाडौँ, २९ असार । सरकारले खेल क्षेत्रको समग्र विकासका लागि गत वर्षभन्दा झन्डै रु ६० करोड बढी रकम विनियोजन गरेको छ ।

व्यस्थापिका–संसद्मा आज अर्थमन्त्री डा रामशरण महतले प्रस्तुत गरेको बजेट वक्तव्यमा आगामी आवमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरिने लगायत विषयमा रु दुई अर्ब सात करोड बजेट विनियोजन गरिएको छ । गत वर्ष भने मन्त्री डा महतले नै खेल क्षेत्रका लागि रु एक अर्ब ४७ करोड बजेट विनियोजन गर्नुभएको थियो ।

बजेटमा देशका विभिन्न स्थानमा क्रिकेट मैदान निर्माणका लागि रु २१ करोड छुट्याइएको छ तर गत वर्ष नै मूलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरको प्यारापिटलगायत पूर्वाधार निर्माण गर्न रु २० करोड विनियोजन गरिएकामा रु १० करोड मात्र खर्च भएको युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार रु १० करोडमध्ये पनि रु तीन करोड जग्गा अधिग्रहणबापत मुआब्जामा खर्च गरिएको र क्रिकेट मैदान निर्माणका क्रममा लागि रु सात करोड मात्र खर्च भएको छ । परिणामस्वरुप सो मैदानमा प्यारापिट निर्माणको कामसमेत सुरु हुन सकेको छैन । आज प्रस्तुत बजेटमा पनि उक्त निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि रु ११ करोड विनियोजन गरिएको छ । गत वर्षको बजेटमा भैरहवामा राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण सुरु गरिने भनिएकामा लक्ष्यभन्दा बढी काम भएको उहाँको भनाइ थियो ।

क्रिकेट खेलमा नेपालले प्राप्त गरेको सफलता र यस खेलमा नेपाली युवाको बढ्दो आकर्षण कायम राख्न काठमाडौँ बाहिरका मुख्य सहरमा क्रिकेट मैदानको निर्माण गरिने, धनगढीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण कार्यको थालनी गरिने बजेट वक्तव्यमा उल्लेख छ । यसका लागि रु २१ करोड विनियोजन गरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला मैदानको पुनःनिर्माणका लागि रु १३ करोड विनियोजन गरिएको छ । उक्त रङ्गशालाको विकल्पमा ललितपुरस्थित च्यासल फुटबल मैदान निर्माणका लागि रु चार करोड बजेट विनियोजन गरिएको छ । तर अखिल नेपाल फुटबल सङ्घ (एन्फा)भित्र देखिएको विवाद आर्थिक अनियमितताका कारण एक वर्षदेखि मुलुकमा फुटबलको गतिविधि प्रायः शून्य छ, जसका कारण फिफा वरियतामा नेपालको अवस्था अहिले दक्षिण एसियाकै सबैभन्दा कमजोर बन्न पुगेको छ ।

खेलाडीको बिमा गरिने
बजेटमा आगामी वर्ष हुने आइसिसी विश्व लिग क्रिकेट डिभिजन थ्री स्तरको अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गरिने, खेलाडीको बिमाको व्यवस्था गरिने, स्तरीय खेल प्रशिक्षण र अभ्यासका लागि मुख्य सहरमा कभर्ड हलको निमार्णलाई निरन्तरता दिइने, खेलकुदको सन्तुलित विकासका लागि एक निर्वाचन क्षेत्र एक खेल मैदान नारालाई निरन्तरता दिइने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।

गत वर्षको बजेट वक्तव्यमा हरेक निर्वाचन क्षेत्रमा न्यूनतम एउटा खेल मैदान निर्माण गरिने अभियानअन्तर्गत गत वर्ष सुरुमा ५३ निर्वाचन क्षेत्रमा खेलमैदान निर्माण सम्पन्न गरिने लक्ष्य पूरा हुन सकेन । ती जिल्लाका लागि भनेर छुट्टयाइएको बजेट बरु १८० निर्वाचन क्षेत्रमा पठाइएकामा पूर्वाधारका प्रारम्भिक काम भने सुरु भएको छ ।

यस वर्ष पनि सो कार्यक्रमलाई बजेटमा निरन्तरता दिइएको छ तर कति निर्वाचन क्षेत्रमा खेल मैदानको काम सुरु गरिने भन्ने स्पष्ट पारिएको छैन । मन्त्री पौडेलका अनुसार यस वर्ष सो कार्यलाई निरन्तरता दिँदै कार्यक्रम २४० सै निर्वाचन क्षेत्रमा पु¥याइने छ ।

आगामी आवको बजेटमा विद्यालयस्तरदेखि नै खेलकुदको विकासका लागि चार हजार सामुदायिक विद्यालयका लागि प्रतिविद्यालय रु १० हजारको दरले खेल सामग्री उपलब्ध गराइने नयाँ कार्यक्रम उल्लेख छ ।

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव युवराज लामाले भने आगामी वर्ष खेलकुदमा बजेट बढ्नुमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता भएको बताउनुभयो । रासससँग कुरा गर्दै उहाँले गत वर्ष नै आफूहरूले सातौँ राष्ट्रिय खेलकुदको आयोजना गर्न बजेट माग गरेको भए पनि बजेट नछुट्टाइएको गुनासो गर्नुभयो ।

आगामी माघ महिनामा भारतमा हुने दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्तरीय प्रदर्शन गर्ने तयारीसहित गर्न लागिएको सातौँ राष्ट्रिय खेलकुद समयमै सम्पन्न हुनेमा आशङ्का व्यक्त गर्दै उहाँले सोका लागि राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै सम्पन्न गर्न आगामी भदौदेखि नै तीव्र रुपमा तयारी थाल्न आग्रह गर्नुभयो । मन्त्रालयले भने अर्थ मन्त्रालयसँग रु तीन अर्ब बजेट माग गरेको थियो ।

प्रतिक्रिया