शनिबार, असार १८ २०७९
काठमाडौं २३:५८
वासिङटन डिसी 14:13

संविधान लेखनलाई पूर्णता दिन राष्ट्र सङ्घ, चीन र भारतको सद्भाव आवश्यक

इनेप्लिज २०७२ असार २९ गते ११:५९ मा प्रकाशित

Rss_Images_1434276113788_NG-Npj-Prachandaकाठमाडौँ, २९ असार । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान लेखन प्रक्रियामा छिमेकी मुलुकको सद्भावका लागि आफू भारत भ्रमणमा जान लागेको बताउनुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले शान्ति प्रक्रिया र संविधान लेखनको कामलाई पूर्णता दिन संयुक्त राष्ट्र सङ्घ, चीन र भारतको सद्भाव आवश्यक रहेकाले भ्रमण सोही दिशामा केन्द्रित हुने बताउनुभयो ।

भ्रमणलाई राजनीतिक रुपमा मात्रै लिन आग्रह गर्दै उहाँले भन्नुभयो, “भ्रमणका क्रममा दुई देशको सम्बन्धलाई अझ नयाँ उचाइमा उठाउन केन्द्रित हुनेछ ।” भारत भ्रमणमा रहँदा आफूले सीमा समस्याका विषयमा विशेष रुपमा कुरा उठाउने पनि उहाँले बताउनुभयो । पछिल्लो दिनमा ‘लिपुलेक’के सम्बन्धमा उठेका विषयलाई समाधान गर्न आफूले पहल गर्ने उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “लिपुलेक नेपालको भूमि हो भन्नेमा धेरैको समान मत छ, मुलुकभित्र उठेका धारणाका आधारमा म भारत सरकार र प्रधानमन्त्रीसँग समस्या समाधानका लागि आग्रह गर्छु ।”

लिपुलेकको मात्रै नभई नेपाल र भारतबीच अन्य स्थानमा देखिएको सीमा समस्या समाधानका लागि समेत आफूले कुराकानी गर्ने अध्यक्ष दाहालको भनाइ थियो । नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीका विषयमा विशेष छलफल हुने उल्लेख गर्दै उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच समेत साझेदारीका विषयमा कुराकानी भएकाले त्यसमा नेपालको सहभागिताका सन्दर्भमा भारतमा रहँदा संवाद गरिने जानकारी दिनुभयो ।

जनमत सङ्कलनमा सहभागी हुने
अध्यक्ष दाहालले संविधानको मस्यौदा जनताका बीचमा पुगेको र आफू आगामी साउन ४ र ५ गते सिरहा क्षेत्र नं ५ मा जनमत सङ्कलनमा सहभागी हुने उल्लेख गर्दै संविधान निर्माणमा छिमेकीको सद्भाव जुटाउने विषयलाई अन्यथा नठान्न आग्रह गर्नुभयो ।

भ्रमणका क्रममा गुजरातको आफूले भ्रमण गर्ने र भूकम्पपछि त्यहाँको पुनःनिर्माणका बारेमा समेत जानकारी लिने पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । भ्रमणका क्रममा उहाँको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज तथा काँग्रेस आई र भारतीय कम्युनिस्ट पार्टीका नेतासँग भेटघाट हुने कार्यक्रम छ ।

प्रतिक्रिया