छवटा सामुदायिक वन पुरस्कृत

इनेप्लिज २०७२ असार २९ गते ४:१५ मा प्रकाशित

ilam_nepal_mapइलाम, २९ असार । जिल्ला वन कार्यालयले जिल्लाका उत्कृष्ट सामुदायिक वन उपभोक्ता समूहलाई सोमबार पुरस्कृत गरेको छ ।

चालु आवमा चुरे क्षेत्रमा वन संरक्षण, सम्वद्र्धन र दिगो व्यवस्थापन गरेबापत सामुदायिक वनलाई पुरस्कृत गरिएको हो ।

पाथीभरा सामुदायिक वन उपभोक्ता समूह महमाई–९ पहिलो, तीनतले सामुदायिक वन उपभोक्ता समूह दोस्रो र बगैँचासेरो सामुदायिक वन उपभोक्ता समूह चिसापानी तेस्रो भएका छन् ।

यसैगरी सामुदायिक वन व्यवस्थापन र यसको विकास तथा सम्वद्र्धनमा उत्कृष्ठ कार्य गरेबापत नमुना सामुदायिक वन उपभोक्ता समूह कोल्बुङ–९ पहिलो, इरौंटार सामुदायिक वन उपभोक्ता समूह इरौंटार दोस्रो र कालीखोप डढेली सामुदायिक वन उपभोक्ता समूह जोगमाई तेस्रो भएका छन् ।

पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजार तथा प्रमाणपत्र वितरण गरिएको छ ।

दानाबारीस्थित दक्षिणी सेक्टर वन कार्यालय सुखानीमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गर्दै जिल्ला वन अधिकृत तीर्थराज जोशीले वन क्षेत्रको संरक्षणमा उपभोक्तानै जागरुक बन्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले इलामका सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रको रेखदेख र संरक्षणमा विशेष योगदान गरेको भन्दै प्रशंसासमेत गर्नुभयो ।

वन व्यवस्थापन, संरक्षण, डढेलो नियन्त्रणलगायतका गतिविधि मूल्याङ्कनका आधारमा सामुदायिक वनलाई छनोट गरी पुरस्कृत गरिएको सहायक वन अधिकृत सुनिलकुमार सिंहले बताउनुभयो ।

प्रतिक्रिया