शुक्रबार, जेठ ६ २०७९
काठमाडौं ०१:०८
वासिङटन डिसी 15:23

शंकर पोखरेलको हेराइमा सुशील, केपी, प्रचण्ड र कमल थापाका नालीबेली

इनेप्लिज २०७२ असार २८ गते १४:३१ मा प्रकाशित

केपी शर्मा ओली- समय व्यवस्थापनमा कमजोर

केपी ओली अत्यन्त आधारभुत तहबाट राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् । टुहुरो बालक, अरुको संरक्षणमा हुर्केको, अरुको आश्रयमा पढेको, पढ्ने क्रममै राजनीतिमा होमिएको व्यक्ति । झापा बिद्रोहजस्तो कठीन राजनीतिक यात्राबाट बैचारिक नेताका रुपमा संघर्षशील व्यक्तिको रुपमा आफूलाई उभ्याउन सफल रहेको व्यक्ति पनि हो । जुन ब्यक्ति पार्टीभित्र एउटा मान्यताको निम्ति निरन्तर संघर्ष गरिरह्यो ।

बलिदान, संघर्ष, समर्पणका हिसाबले उचो व्यक्तित्वको रुपमा रहेकाले गलत कुराको निम्ति लड्ने र सही कुरालाई स्थापित गर्न सबैलाई समेटेर अगाडि बढ्ने व्यक्तिको रुपमा लिन्छु ।

संगठनात्मक जीवनको हिसाबले उहाँ काँचो पात्र हो । उहाँले राजनीतिक जीवन प्रारम्भ गर्नेवित्तिकै जेलमा पुग्नुभयो । यस कारण पनि उहाँलाई प्रतिपक्षको मानसिकताको आरोप पनि लाग्ने गर्दछ । कार्यकर्तासँग घुलमिल हुनसक्ने र तल्लो तहको कार्यकर्तालाई चिन्न सक्ने खुबी चाँहि उहाँमा छ ।

Kp-Oli-Birthday01

उहाँले आफ्नो कुरा खरो ढंगले राखे पनि कार्यकर्ताको भावनाको आधारमा पछि हट्न सक्ने हुनुहुन्छ । बिचारमा खरो, व्यवहारमा लचकता । लागेको कुरा बोलिहाल्ने भएकाले पनि उहाँ विवादमा आइरहनुहुन्छ ।

पार्टीको मुलधारले नचाहँदा पनि पार्टीमा स्थापित हुने चानचुने कुरा होइन । यसमा उहाँ अपवाद हो । संस्थापनले किनारा लगाउन खोज्ने तर नेतृत्वमा आउन चाहने व्यक्ति भएकाले पनि उहाँको आलोचना भैराखेको हुन्छ । कार्यकर्ताहरुलाई बुझ्ने, क्षमतालाई पहिचान र परिचालन गर्न सक्ने खुबी एक हदसम्म उहाँमा छ ।

उहाँको समय व्यवस्थापनमा ठूलो समस्या छ । अलिकति मन परेको मान्छे भेट्टायो भने खुलेर छलफल गर्ने स्वभावको हुनुहुन्छ । कुरागर्दै जाँदा अर्को सेड्युललाई बिर्सिदिने । विचार प्रभाव गर्ने मान्छे समयको व्यवस्थापनमा कमजोर हुँदो रहेछ ।

असाधारण ढंगबाट खट्न सक्ने व्यक्ति हो, केपी ओली । बिहान आठबाट शुरु भएको उहाँको दैनिकी राति ११, १२ बजेसम्म जारी रहन्छ । नेपाली राजनीतिक दलहरुमा सबैभन्दा बढी छलफलमा व्यस्त हुन् र खट्ने नेता भनेको केपी ओली नै हो ।

उहाँले बच्चाबच्चीलाई निकै मन पराउनु हुन्छ । माया गर्नुहुन्छ, निःसन्तान भएको कारणले पनि होला । बच्चाबच्चीहरुसँग निकै समय बिताउनुहुन्छ । राजनीतिज्ञहरु कठोर हृदयको हुन्छन् भन्ने गरिन्छ तर त्यो मामलामा केपी उदार देखिनुहुन्छ ।

सुशील कोइराला– व्यक्तिगत छवि राम्रो छैन

कोइराला परिवारमा जन्मेकाले पनि सुशील कोइरालाले सानो उमेरदेखि राजनीतिमा सक्रिय हुनुभयो । आन्दोलनको कठिन दिनहरुमा समर्पित भएको व्यक्ति हो ।

नेपाली कांग्रेसले लामो समय शासन सत्ता सम्हाल्दा पनि कुनै लाभको पदमा पुग्नु भएन । प्रमुख नेताको मुख्य सहयोगीको रुपमा राजनीतिमा सक्रिय भएको व्यक्तिको रुपमा बुझ्छु । कांग्रेसको कठिन दिनहरुमा अन्तराष्ट्रिय सम्पर्क सम्बन्धमा रहनुभयो । पुरानो अन्तर्राष्ट्रिय सम्पर्क सम्बन्ध प्राप्त गर्ने व्यक्तिको रुपमा पनि सकिन्छ ।

Sushil Koirala

पार्टीभित्र आफ्नो भूमिका बढाउने गरी टिम निर्माण गर्न सक्ने बलियो गुटको व्यवस्थापन गर्न सक्ने व्यक्ति भएपनि सानो टिमलाई परिचालन गर्ने र त्यहीमार्फत अगाडि बढ्ने गर्नुहुन्छ । उहाँ सानो टिममाथि निर्भरता छ, चाहे पार्टीमा होस्, चाहे सरकार सञ्चालनमै किन नहोस् । पहिलेदेखिनै उहाँमा आफ्नो कुरा स्पष्टरुपमा राख्ने र ‘मास मोभिलाइज’ गर्ने देखिएन । तर, कांग्रेसभित्र अडान भएको नेता भने हो ।

उहाँको अर्को कमजोरी भनेको सानो र ठूलो काम चिन्न नसक्ने । सानो सिफारिसको लागि पनि मन्त्रीसँग गएर दाँत फत्कारी हाल्ने बानी छ ।

उहाँको व्यक्तिगत छवि, सार्वजनिक व्यक्तित्व धेरै कमजोर छ । उहाँको आदर्श बढी व्यवहारमा कम जस्तो पनि देखिन्छ । प्रधानमन्त्रीको हैसियत पूरा गर्न नसकेको पनि देखिन्छ । उहाँको राज्य सञ्चालनको अनुभव शुन्य देखियो, लामो समय राज्यसत्ता सञ्चालन गरेको पार्टीको कार्यकर्ता जस्तो देखिएन । अनुभवहीन नेता नेतृत्वमा जाँदा सरकार कमजोर हुँदो रहेछ भन्ने देखियो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ – बुर्जुवालाई पनि पछि पार्ने जीवनशैली

सशस्त्र संघर्षबाट आएको एक खालको ग्ल्यामर छ प्रचण्डमा । आफ्नो कुरा स्पष्ट रुपमा राख्न सक्नुहुन्छ । पार्टीभित्र विश्वास कायम गरेको, नेपालको समकालीन राजनीतिभित्र क्षमता भएको व्यक्तिको रुपमा लिने गर्छु ।

prachanda-nepal-puspa-kamal

उहाँ आक्रामकता र सम्झौतामा एकदम ‘इलास्टिक’ हुनहुन्छ, एउटा बाटोमा हिँड्दा हिँड्दै एक सय ८० डिग्रीमा घुमेर अर्को बाटोमा आइदिने । त्यसले अविश्वासनीय पात्रजस्तो देखिन्छ । राज्यसत्ताको साधन स्रोत, शक्तिको अधिकतम प्रयोग गर्न खोज्ने व्यक्ति पनि हो । शासकीय रवाफ देखाउने कुरामा पनि निकै रुची राख्नुहुन्छ । गुर्जुवालाई समेत पछि पार्ने उहाँको शोखिन शैली छ । लवाईखवाई, बसाई, उठाईमा शासकीय रवाफ अन्य नेतामा भन्दा बढ्ता देखिन्छ । त्यस्तो स्वभावले ज्यादा छलछम, षड्यन्त्र, दाउपेज, अदृष्य गतिविधिबाट ज्यादै आक्रान्त हुनुभएको छ । उहाँलाई गलत व्यक्तिले पनि प्रयोग गरिदिन सक्ने सम्भावना रहन्छ ।

उहाँ निकै भावुक हुनुहुन्छ, अरुको विश्वास जित्ने नाउँमा भावनामा ज्यादा बहकिने । जस्तो जाति समुदायमा गयो त्यस्तै बनिदिने । एक प्रकारको सन्तुलित नीतिको अभाव जस्तो । उहाँले दिर्घकालिन भन्दा पनि तत्कालको नाफा घाटालाई जोड दिनुहुन्छ ।

प्रचण्ड अहिले कमजोर हुनुको कारण बैद्य पार्टीबाट अलग्गिनु हो । बैद्य र वावुरामलाई भीडाएर प्रचण्ड बीचको बाटोमा हिड्नुहुन्थ्यो । अहिले बाबुरामसँग सिधै भिड्नु पर्ने भएको छ ।

कार्यकर्तालाई संरक्षण गर्ने क्षमता चाँहि उहाँमा देख्छु । प्रचण्डको वरीपरि अलि बढी कार्यकर्ता झुण्डिएका हुन्छन् । उहाँले कार्यकर्तामाथि विश्वास गर्ने र कार्यकर्ताको टिम लिएर हिँड्ने स्वभाव देखिन्छ ।

कमल थापा– पछौटेपनको प्रवक्ता

Kamal Thapa

कमल थापा नेपाली राजनीतिभित्रका ‘कन्ट्रोभर्सी’ पात्र हुन् । राष्ट्रबादी विद्यार्थी मण्डलको राजनीतिमा हुर्केको र पञ्चायतको अत्यन्त उत्कर्ष कालमा त्यसलाई विस्तार गर्ने मिसनअन्तर्गत हुर्काइएको पात्र हो । राजतन्त्रवाद, निरंकुशता, पञ्चायतको पक्षपाती भएकाले उहाँ ‘कन्जरभेटिभ’ धाराको असल पात्र हो । परम्पराबादी, यथास्थितिवादीका सबैभन्दा इमान्दार प्रतिनिधि ।

आफ्ना मान्यताहरुलाई स्पष्ट रुपमा राख्न सक्ने क्षमता उहाँमा छ । त्यसैले राष्ट्रिय राजनीतिमा परिचित बनाएको छ ।

नकारात्मक पृष्ठभूमिबाट उहाँको चरित्र निर्माण भएको हो । दमनको भूमिकामा रहेको, संगठनात्मक हिसाबले पनि कुशल व्यवस्थापकको रुपमा लिन सकिँदैन । प्रजातान्त्रिक हिसाबले अगाडि बढ्ने स्वभाव कम छ । उहाँले गैरराजनीतिक आफ्नो भाईलाई सभाषद् नै बनाइदिनुभयो । उहाँलाई पछौटेपनको प्रवक्ताको रुपमा लिन सकिन्छ ।

प्रस्तुतिः विश्वास खड्काथोकी/ दैनिक नेपाल

 

प्रतिक्रिया