तेह्र हजार भन्दा बढी ट्राफिक कारबाहीमा

इनेप्लिज २०७२ असार २८ गते १:३८ मा प्रकाशित

ilam_nepal_mapइलाम, २८ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले सवारी नियम उल्लङ्घन गर्ने १३ हजार २५० सवारीसाधनबाट एक वर्षमा रु ४२ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

ट्राफिकले चालु आवको साउनदेखि असारसम्ममा सवारीसाधनलाई कारबाही गरी रु ४२ लाख २६ हजार ९८० राजस्व सङ्कलन गरेको हो ।

विगतको तुलनामा यस वर्ष सबैभन्दा बढी राजस्व सङ्कलन भएको ट्राफिकले जनाएको छ । आव २०६८/०६९ मा रु सात लाख ३१ हजार ३५०, आव २०६९/०७० मा रु १२ लाख ४६ हजार ५० र गत आवमा रु २४ लाख ४२ हजार ५०० राजस्व सङ्कलन भएको थियो ।

राजमार्गमा नियमविपरीत चलेका सवारीसाधनमाथि नियमित जाँच गर्न थालेपछि राजस्व सङ्कलन बढेको हो ।

चालु आवमै मापसे गरी सवारी चलाउने १५० भन्दा बढी चालकबाट रु डेढ लाख थप राजस्व सङ्कलन गरेको ट्राफिक इञ्चार्ज पदमबहादुर राईले जानकारी दिनुभयो ।

बिना लाइसेन्स, क्षमताभन्दा बढी यात्रु बोक्ने, यात्रुबाहकमा सामान ओसारे, बिना कागजात सवारी चलाएमा रु एक हजार जरिवाना गर्दै आएको छ ।

छ लाखका सामग्री प्रदान

यसैगरी घरेलु तथा साना उद्योग विकास समितिले यहाँका ३५ जना उद्योगी, व्यवसायी र किसानलाई रु छ लाख मूल्य बराबरका सामग्री प्रदान गरेको छ ।

घरेलुले यो वर्ष ग्रासकटर, चिलिङभ्याट, मौरीको घार, सिलाइकटाइ मेसिन, आइरनलगायतका सामग्री प्रदान गरेको हो ।

उपयुक्त प्रविधि हस्तान्तरण समितिले रु १५ हजारदेखि २३ हजारसम्मका सामग्री प्रदान गरिएको समितिका शाखा अधिकृत सुनिल आचार्यले बताउनुभयो ।

व्यवसाय गर्न चाहनेका लागि घरेलुले सिलाइकटाइ, मौरीपालनसम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ । उद्योगी तथा किसानबाट प्रस्ताव माग गरी घरेलुले सामग्री प्रदान गरेको हो ।

जिल्लाको लक्ष्मीपुर, नामसालिङ, चिसापानी, बरबोटे, सोयाङ, मङ्गलबारे, गोदकलगायतका गाविसमा सामग्री प्रदान गरिएको हो ।

प्रतिक्रिया