मुुलुकलाई आर्थिक सम्बृद्धि बनाउने मिसन पत्रकारिता जरुरी: उद्योग मन्त्री

इनेप्लिज २०७२ असार २७ गते १४:४५ मा प्रकाशित

mahesh-basnetकाठमाडौँ, २७ असार । भूकम्पपछिको पर्यटन प्रवद्र्धनका लागि पत्रकारिताको माध्यमबाट कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्ने उद्देश्यले आज यहाँ एकदिने पर्यटन पत्रकारिता अभिमुखीकरण तालिमको आयोजना गरियो ।

नेपाल पर्यटन बोर्डको सहयोगमा राष्ट्रिय पर्यटन पत्रकार सङ्घले आयोजना गरेको अभिमुखीकरणमा विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मी तथा आमसञ्चार तथा पत्रकारिताका विद्यार्थी गरी १२० भन्दा बढीको सहभागिता थियो ।

भूकम्पपछिको पर्यटन प्रवद्र्धनका लागि खोज पर्यटन पत्रकारिता, पर्यटन पत्रकारिताको नीतिगत व्यवस्थालगायतका विषयमा त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता केन्द्रीय विभागका प्राध्यापक प्रवलराज पोखरेल, नेपाल पत्रकार महासङ्घका महासचिव उजिर मगर, पर्यटनविद्द्वय दीपक महत र रविजङ्ग पाण्डेले प्रशिक्षण दिनुभएको थियो ।

पर्यटन पत्रकारिताको सम्भाव्य क्षेत्र, विषयवस्तु, उठान गर्नुपर्ने विषय र समाचार सम्प्रेषणका क्रममा अपनाउनुपर्ने विधि र सैद्धान्तिक एवम् व्यावहारिक ज्ञानबारे सहभागी प्रशिक्षार्थीलाई अभिमुखीकरण गराइएको थियो ।

नेपाली पर्यटनको मूख्य आधार क्षेत्र पर्वतीय पर्यटन र पदयात्रा पर्यटनबारे समाचार सम्प्रेषणका जोखिम र सरलीकरणका उपायबारे सहभागीले जिज्ञासा राखेका थिए ।

तालिमको समापन गर्दै उद्योग मन्त्री महेश बस्नेतले भूकम्पपछिको पर्यटन पुनरुत्थान गरी मुलुकलाई आर्थिक सम्बृद्धि बनाउनेतर्फ अबको मिसन पत्रकारिता जरुरी भएको उल्लेख गर्नुभयो ।

उहाँले मुलुकलाई आर्थिक उन्नतिको दिशामा अघि बढाउन सरकार, निजी क्षेत्र, दातृ संस्था र सञ्चारकर्मीको सामूहिक प्रयास जरुरी भएको बताउनुभयो ।

उद्योग मन्त्री वस्नेतले अबको १५ दिनभित्र जनताको राय सुझाव लिएर संविधान जारी हुने बताउँदै निजी क्षेत्र र उद्योगीको भावनालाई समेटेर आगामी आर्थिक वर्षको बजेट ल्याइने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले भूकम्पपछि सुस्ताएको आन्तरिक पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रको साझेदारितालाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख प्रशासकीय अधिकृत रमेशकुमार अधिकारीले नेपाली पर्यटनलाई विश्व बजारमा सकारात्मक प्रवद्र्धन गर्ने गरी सञ्चारमाध्यमले समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।

सङ्घका अध्यक्ष शिव अधिकारीले पर्यटन पत्रकारितालाई खोजमुलक बनाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया