अमेरिकामा घरबाटै चल्ने यि ब्यवसायहरू: तपाइको आर्थिक उन्नतिको मार्ग

इनेप्लिज २०७२ असार २७ गते १३:३२ मा प्रकाशित

11227780_10153142992608999_7979240356972911980_nअमेरिकाको नर्थ क्यारोलिनाको पश्चिमी ग्रामीण भेग मेरियनमा बस्ने अमेरिकन गोरि जेसिका बर्नरलाई आफैंले घरमा बनाएको होममेड कुकिज, चकलेट कुकिज, अरेन्ज कुकिज, क्रिम कुकिज, केकको अत्यधिक माग हरेक स्टोर, ग्यास स्टेशन तथा ग्रोसरी स्टोरमा पुर्याउन धौधौ छ उनलाई । यी कुकिज उनी घरमा आफ्नै हातले रातभरि बनाउँछिन् केही सहयोगिहरुका साथ लिएर। कुनै समय जागिर खोज्दाखोज्दै हैरान भएकी उनले एकहजार डलरभन्दा कमको लगानीमा कुकिज बनाउने होममेड ब्यवसाय सुरु गरेकी हुन् । अहिले उनको होममेड कुकिजको माग ह्वात्तै बढेको छ । स्थानिय ग्राहकहरू उनले बनाएको कुकजि भनेपछि मरिहत्ते गर्दछन् । उनकै शब्दमा अहिले उनको मासिक आम्दानी १५ हजार डलरभन्दा माथि रहेछ ।

उनीजस्तै अर्की गोरी हेदर ब्राउनलाई स्टोर स्टोरमा आफ्नै हातले बनाएको बिहानी ब्रेकफास्ट खाजा ह्याम, एग, ससेज, बेकन, लिभरमस्ट बिस्कुटको माग पुर्याउन भ्याइ नभ्याइ छ । आफैंले रातभर बनाएका बिस्कुट बिहानै हरेक स्टोरमा पुर्याएर उनी घरबाट सञ्चालित होमबेस ब्यवसायको सफल नमुना बनेकी छिन् । झन्डै पाँच सय डलरबाट ब्यवसाय सुरु गरेकी उनले अहिले मासिक झन्डै १० हजारको हाराहारीमा आम्दानी गर्दिरहेछिन ।
यी घरबाटै आफ्नो अनुकूलको सानो लगानीमा सञ्चालन हुन सक्ने ब्यवसायका राम्रै प्रतिफल र चमत्कारहरु छन् । अमेरिका यस्तो मुलुक हो, जहाँ काम गर्न, ब्यवसाय गर्न र आर्थिक उन्नतिका लागि केही गर्न सकिन्छ । केवल इच्छाशक्ति र परिश्रमको आवश्यकता पर्दछ । अमेरिकामा हरेक १२ सेकेन्डमा घरबाट सञ्चालित साना ब्यवसाय जन्मिँदा रहेछन् र सुरुवात हुनेरहेछ । अमेरिकि बिजनेश ब्यूरो र तथ्यांक विभागका अनुसार, अमेरिकामा ३८ मिलियन होमबेस ब्यवसाय सञ्चालित छन् । यी त देखिएका, दर्ता भएकामध्ये भए । अझै दर्ता गर्नै नपर्ने होमबेस ब्यवसाय हजारौंको संख्यामा सञ्चालित छन् । होमबेस ब्यवसाय नेटवर्किङ संघका अनुसार, घरबाट सञ्चालित ४४ प्रतिसत ब्यवसायको लगानी पाँच हजार डलर वा त्यसभन्दा कम छ । अन्य ब्यवसाय गर्नेबाट ३० प्रतिसत सफल हुँदा होमबेस ब्यवसायबाट ७० प्रतिसत ब्यवसायी सफल हुँदा रहेछन् । ७५ प्रतिसत अमेरिकीहरू ‘आफ्नो साहु आफैं बनौं’ अथवा स्वरोजगारदाता हुन मन पराउँछन् । गत सालमात्रै घरबाट सञ्चालित ब्यवसायबाट अमेरिकामा चार सय २६ बिलियन डलर मुनाफा गरेको बिजनेश ब्यूरोको तथ्यांकमा उल्लेख छ ।
अमेरिकामा कम लगानी, कम जोखिम, घरबाट परिवारसँगै आफ्नै अनुकूल समयमा आफ्नै कार्यतालिका र ब्यवस्थापनमा गर्न सकिने साना ब्यवसायमध्येको होमबेस ब्यवसाय फस्टाउँदै गइरहेको छ । यसबाट आप्रवासीहरू लाभान्वित र हुन सक्दछन् । यस क्षेत्रमा नेपाली समुदायलाई पनि आकर्षित गराउन सकेमा आर्थिक स्वतन्त्रता र समाजको समृद्धिमा टेवा पुग्न सक्ने देखिन्छ । होमबेस ब्यवसायका लागि नेटवर्क, ग्राहकसम्म पुग्ने माध्यम, कम्प्युटर, ल्यापटप, आइप्याड, सेलफोनआदि आधुनिक सञ्चारका यन्त्रहरू प्रभावकारी हुन्छन् । अधिकांश यीनै माध्यमहरू मार्फत् ब्यवसायको पहिचान, प्रचार र ग्राहकसम्म पुग्ने पहुँचका आधारहरू हुन् । अन्य थुप्रै होमबेस ब्यवसायका सेवाहरूमा यी वस्तुहरूका आवश्यकता नपर्न पनि सक्दछ । फेसबूक, ट्विटरजस्ता सामाजिक सञ्जालहरू पनि होमबेस ब्यवसायलाई प्रवद्र्धन र प्रचार गर्ने तथा ग्राहकसम्म पुग्ने बलिया माध्यमहरू हुन् ।
विभिन्न अनलाइन कम्पनी, संस्थाहरूका होमबेसबाटै सेवा पुर्याउन सक्ने प्रतिनिधि, एजेन्टदेखि घरकै सानो कोठा वा भागलाई प्रयोग गरी घरबाटै थुप्रै होमबेस ब्यवसाय चल्न सक्छन् । सरकारी नियम र कानुनको झन्झटिलो प्रक्रिया ब्यहोर्नु नपर्ने, सानातिना लगानी र ऋणबाट ब्यवसाय सञ्चालन गर्न सकिने, काम र ब्यवसायको प्रकृतिअनुसार कर तिर्नु नपर्ने हुन्छ र कतिपय दर्तासमेत गर्न आवश्यक नपर्ने हुन्छ । तर, होमबेस ब्यवसायबाट हुने आम्दानीलाई ब्यक्तिगत कर दाखिला गर्दा भने उल्लेख गर्नुपर्ने हुन्छ ।
के कस्ता ब्यवसाय होमबेस ब्यवसायभित्र पर्दछन् । र, घरबाटै गर्न सकिन्छ भन्नेमा जिज्ञासा हुनसक्छ । ब्रेड, ब्रेकफास्ट, क्याटरिङ सेवा, क्लिनिङ, सरसफाई ब्यवसाय, डेस्कटप, छपाई, कार्यक्रम (इभेन्ट) ब्यवस्थापन तथा योजना बनाइदिने सेवा, गिफ्ट बास्केट ब्यवसाय, होम डे केयर सर्भिस, इन्टोरियर डेकोरेटिङहरू घरबाटै सानो लगानीमा गर्न सकिन्छ । त्यस्तै, ल्यान्डस्केपिङ ब्यवसाय, मसाज थेरापी, तालिम एवं परामर्श सेवा, घर पालुवा जन्तु केयर सेवा ब्यवसाय, वेभसाइट निर्माण तथा डिजाइनिङ, फोटोग्राफी, रोजगार भर्ती सम्पर्क केन्द्र, ट्राभल कन्सल्टेन्सी तथा एजेन्ट, ट्युसन ब्यवसायआदि अत्यन्त प्रभावकारी होमबेस ब्यवसायहरू हुन् । अधिकांश अमेरिकीहरूको आकर्षण रहेका होमबेस ब्यवसायहरूमा वेभसाइट निर्माण तथा डिजाइनिङ, ज्वेलरी डिजाइनिङ, इभेन्ट प्लानिङ, घर बनाउने नक्सा नाप, कम्प्युटर सपोर्ट, घरपालुवा जन्तु हेरचाह ब्यवसाय, आयात निर्यात, क्लिनिङ सेवा, फोहोर तथा बिग्रे–भत्केका वस्तुहरूको संकलन तथा रेकर्ड, फूल ब्यवसाय रियल स्टेटआदि प्रख्यात छन् । त्यसैगरी फूल बास्केट, होममेड खानेकुरा, गीती लेखन, अनुवाद, दोभाषे ब्यवसाय, विवाह–भोज भतेर ब्यवस्थापन, किताव लेखन, मोडलिङ, खोजकर्ता, फेसन ब्यवसाय, डे केयर, कार सफा गर्ने ब्यवसाय, कार डिटोलिङ, कला ब्यवसाय अमेरिकामा प्रचलित र प्रख्यात होमबेस ब्यवसायहरू हुन् । अन्य यस्ता थुप्रै ब्यवसायहरू छन्, जुन घरबाटै सञ्चालन गरी मनग्गे आर्थिक मुनाफा आर्जन गर्न सकिन्छ । क्याब र ट्याक्सी सञ्चालन तथा ड्राइभिङ पनि होमबेससँग अन्तरसम्बन्धित छन् । थुप्रै नेपालीहरू यो सेवामा क्रियाशिल पनि छन् ।
घरबाटै यस्ता ब्यवसाय सञ्चालन गर्दा ग्राहकसम्म पुग्नुपर्ने भएकाले फ्रड, स्क्यामर र आफ्नो सूचना चोरि गरी आर्थिक नष्ट गरिदिने सम्भावना पनि हुनसक्छ । आफैंमा निर्भर हुनुपर्ने, आफैं अनुशासित र ब्यवस्थित हुनुपर्ने, अधिकतम समय प्रदान गर्नुपर्ने, डोर टु डोर हिँड्नु पर्ने, आम्दानीको नियमितता नहुनेजस्ता केही जोखिमहरू पनि छन् । तर, जोखिम कहाँ छैन ? सहज कहाँ छ र ? अप्ठ्यारा, साना मसिना झन्झटहरू जहाँसुकै र जतासुकै पनि हुनसक्छ । तर, थोरै लगानीमा घरबाटै कम जोखिम मोलेर आर्थिक स्वतन्त्रता प्राप्ती, स्वरोजगार, आफ्नो साहु आफैं हुने र आफ्नै समय हुने हुँदा गौरव अनुभूति गर्न र सफलता हासिल गर्न पनि सकिन्छ । घरको खर्चमा कर राहत, ब्यक्तिगत आम्दानी कर दाखिलामा सहुलियत, घुम्दा र होमबेस ब्यवसायको उत्पादन ग्राहकसम्म पुर्याउँदा कर राहत, घरको खर्च पनि घरबाटै सञ्चालित ब्यवसायसँग जोडिने हुँदा कानुन, करको झन्झटबाट राहतआदि थुप्रै फाइदाहरू छन् । गाडी, कम्प्युटर, घरका अन्य सामान खरिद आदि इत्यादिमा लाग्ने कर छुटका फाइदा पनि त्यतिकै छन् । त्यसैले होमबेस ब्यवसायबाट नेपाली समुदाय पनि समृद्धशाली र ब्यवसायी बन्न सक्ने भएकाले यस्तो अवसर र मौकालाई सदुपयोग गर्न सके हजारौं नेपालीहरू ब्यवसायी बन्न सक्नेछन् ।

प्रतिक्रिया