बिहीबार, असार १६ २०७९
काठमाडौं २२:२१
वासिङटन डिसी 12:36

तेक्वान्दोमा निशा पराजित

इनेप्लिज २०७२ असार २६ गते १५:३६ मा प्रकाशित

unnamedकाठमाडौँ, २६ असार । दक्षिण कोरियाको ग्वाङ्जुमा जारी २८ औँ समर युनिभर्सियाड गेम– २०१५ अन्तर्गत तेक्वान्दोमा नेपालकी निशा रावल पराजित भएकी छन् ।

आज भएको महिला ७३ केजीमाथि निशा चीनकी नि लुसँग १४–२ ले पराजित भइन् । पहिलो राउन्डमा निशाले एक अङ्क जोड्दा लुले तीन अंक प्राप्त गरिन् । दोस्रो राउन्डमा लुले ८ अङ्क जोडिन् भने निशा अङ्कविहीन बनिन् । तेस्रो राउन्ड पनि ३–१ ले लुकै पक्षमा रह्यो । हारसँगै निशा प्रतियोगिताबाट बाहिरिएकी छन् ।

अघिल्लो दिन तेक्वान्दोमै नेपालकी सीता तामाङ प्रतियोगिताबाट बाहिरिएकी थिइन् । महिलाको ४९ केजीमुनि सीताले भुटानकी वाङमो छिमीलाई १५–४ ले हराएकी थिइन् भने दोश्रो चरणमा थाइल्यान्डकी सोन्खाम चनाटिपसंग ०–१२ ले पछि परेकी थिइन् ।

तेक्वान्दोमा नेपालबाट तीन महिला खेलाडी सहभागी छन् । अब निमा गुरुङले आइतबार कोलम्बियाकी पेड्रोजो इरिक सेसीलियाविरुद्ध प्रतिस्पर्धा गर्नेछिन् । नेपालले गेरोगीमा मात्र सहभागिता जनाएको छ ।

दीप नकआउट चरणमा
टेबलटेनिसको पुरुष एकलमा नेपाल नम्बर वान दीप साउन समूह ‘४३’ को लिग खेलमा दुई जित र एक हारसहित नकआउट चरणमा प्रवेश गरेका छन् ।

लिगको अन्तिम तथा तेस्रो खेलमा दीपले अर्जेन्टिनाका पेरेज पाब्लो एन्टोलाई ३–० को सोझो सेटमा हराए भने उनले पहिलो सेट ११–४, दोश्रो ११–६ र तेश्रो १६–१४ ले आफ्नो पक्षमा पार्न सफल भएका थिए ।

लिगको पहिलो खेलमा दीपले अल्जेरियाका मोहम्मद अनिशलाई ३–२ ले हराउदै विजयी सुरुआत गरेका थिए । प्रतिस्पर्धात्मक लिगको दोस्रोे खेलमा दीप अस्ट्रेलियाका गुयेन फिसँग २–३ को साँघुरो अन्तरले पछि परेका थिए ।

अब दीपले नकआउट चरणको पहिलो खेलमा भेनेजुएलाका कोरिए फिग्युरोसँग आइतबार भिड्ने छन् । उता महिला एकलमा राष्ट्रिय च्याम्पियन नवीता श्रेष्ठ नकआउट चरणको पहिलो खेलमा पराजित भइन् । बेस्ट अफ सेभेनको खेलमा नविता ताइपेइकी छेङ छिङसँग ४–० ले चुकिन् । छिङले तेस्रो सेट ११–६ ले आफ्नो नाममा लेखाइन् भने बाँकी तीन सेट ११–३ को समान अङ्कमा आफ्नो पक्षमा पारिन् ।

युनिभर्सियाडको टेबलटेनिसमा नेपालको यात्रा सुःखद रह्यो । कुनै पनि ठूलो अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा नेपाली खेलाडी लिग चरणबाटै बाहिरिएका छन् । पहिलो पटक दुई नेपाली खेलाडी दीप र नविता नकआउट चरण प्रवेश गरेको अखिल नेपाल टेबलटेनिस सङ्घका महासचिव कुवेरप्रकाश सिंहले जनाउनुभयो ।

प्रतिक्रिया