अपाङ्गता बालबालिकालाई एघार लाख छात्रवृत्ति वितरण

इनेप्लिज २०७२ असार २६ गते ४:३६ मा प्रकाशित

apangaइलाम, २६ असार । जिल्ला शिक्षा कार्यालय इलामले अपाङ्गता भएका विद्यार्थीलाई झन्डै रु ११ लाख छात्रवृत्ति वितरण गरेको छ ।

बरबोटेस्थित अमर उच्च माविमा रहेको बौद्धिक अपाङ्गता स्रोत कक्षा, बालमन्दिर इलाममा सञ्चालित दृष्टिविहीन स्रोत कक्षा, पञ्चकन्याको करफोक विद्यामन्दिर उच्च माविमा सञ्चालित बहिरा तथा सुस्तश्रवण स्रोत कक्षा र नयाँबजारस्थित बौद्धिक अपाङ्गता स्रोत कक्षामा अध्ययन गर्ने ५२ बालबालिकालाई रु १० लाख ७९ हजार ४०० छात्रवृत्ति वितरण गरिएको जिशिका लेखाजोखा केन्द्रका प्रकाश चापागाईंले बताउनुभयो ।

कतिपय अपाङ्गता भएका बालबालिकाको परिचयपत्र नहुँदा छात्रवृत्ति माग गर्नेको सङ्ख्या बढ्न नसकेको चापागाईं बताउनुहुन्छ । अपाङ्गता भएका बालबालिका छात्रवृत्ति लिन छुट भएमा तत्काल जिशिकामा सम्पर्क गर्नसमेत जिशिकाले अनुरोध गरेको छ ।

यसैगरी जिल्लाका अन्य सामुदायिक विद्यालयमा अध्ययनरत २६९ जना विद्यार्थीका लागि समेत रु चार लाख ६१ हजार बराबरको छात्रवृत्ति वितरण गरिएको छ ।

छात्रवृत्तिका लागि यस शैक्षिक सत्रमा आधारभूत तहका ६४८ जनाका लागि रु १९ लाख ४४ हजार र माध्यमिक तहका ६६ जनालाई रु दुई लाख ३१ हजार छात्रवृत्ति वितरण गरिएको लेखाजोखा केन्द्रले जनाएको छ ।

प्रतिक्रिया