नहरले पानी नछाड्दा रौतहटका कृषक मारमा

इनेप्लिज २०७२ असार २६ गते ४:३६ मा प्रकाशित

रौतहट, २६ असार । रौतहट जिल्लामा यो वर्ष रोपाइँ अत्यन्त सुस्त गतिमा रहेका कारण किसान प्रत्यक्ष मारमा परेका छन् ।

यो वर्ष असार बित्न लाग्दा पनि पर्याप्त मात्रामा वर्षा नभएको कारण जिल्लाको अधिकांश स्थानमा रोपाइँ हुन सकेको छैन ।

बागमती सिँचाइ आयोजनाले भत्किएका मूल नहर तथा प्रशाखा नहरको मर्मत नगरेकाले रौतहटतर्फको नहर प्रणालीमा हालसम्म पानी नछोडदा अधिकांश कृषकको खेत बाँझै रहेको छ । आयोजनाले सर्लाहीतर्फ पनि पानी नछोडेका कारण त्यहाँको अवस्था पनि यस्तै रहेको छ ।

आयोजनाले पानी नछोडेपछि उत्तरी भेगअन्तर्गत चन्द्रपुर नगरपालिका र करिब १० गाविसका कृषकले धान रोपाइँ गर्न पाएका छैनन् ।

यहाँ करिब दुई सातादेखि खेतीलाई पुग्ने वर्षा नभएका कारण आयोजनाले कहिले पानी छाड्छ भन्ने प्रतीक्षामा कृषक बस्न बाध्य भएका छन् ।

कृषकले अविलम्ब पानी छाड्न आयोजनाका कर्मचारीलाई अनुरोधसमेत गर्दै आएका छन् । गौर चन्द्रनिगाहपुर सडकखण्डको अधिकांश स्थानमा हेर्दा खेत पानीको अभावमा बाँझै रहेको देखिन्छ ।

उता आयोजनाका कर्मचारीले नहर मर्मत तथा सरसफाइको काम सम्पन्न हुने अन्तिम चरणमा रहेकाले मसान्तसम्ममा सुचारु हुने जानकारी दिएका छन् ।

स्थानीय कृषक कृष्ण हुमागार्इंले पानीको अभावमा रोपाइँ गर्न नसकिएको बताउनुभयो । उहाँले यस्तै अवस्था रहे उत्पादन घट्ने भएकाले यथाशक्य पानी छाड्न आयोजनालाई अनुरोध गरिएको बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालयले पानीको अभावमा कृषकले रोपाइँ गर्न नसकेको भन्दै करिब १५ प्रतिशतको हाराहारीमा मात्र रोपाइँ भएको जनाएको छ ।

प्रतिक्रिया