आइतबार, जेठ ३० २०७८
काठमाडौं ०१:५९
वासिङटन डिसी 16:14

विश्वकप टि–ट्वन्टी छनोटमा नेपालको विजयी सुरुवात

इनेप्लिज २०७२ असार २६ गते १:५१ मा प्रकाशित

Nepal1काठमाडौँ, २६ असार । आइसिसी विश्वकप टि–ट्वन्टी छनोट प्रतियोगिताको समूह चरणको पहिलो खेलमा अमेरिकालाई छ विकेटले हराउँदै नेपालले विजयी सुरुआत गरेको छ ।

आयरल्यान्डको बेलफास्टमा जारी प्रतियोगिताअन्तर्गत शुक्रबार पहिलो ओभरमै ओपनर सागर पुनलाई ६ रनमै गुमाएको नेपालको सुरुआत भने राम्रो हुन सकेन । सागरलाई अमेरिकाका जसदीप सिंहले आउट गराएका थिए । अर्का ओपनर अनिल मण्डलले तेस्रो क्रममा आएका ज्ञानेन्द्र मल्लसँग ७८ रनको साझेदारी गर्दै १४ दशमलव २ ओभरसम्म खेल्दै नेपाललाई ८४ रनको स्थितिमा पुर्‍याए । अनिलले २९ रन जोड्दा ज्ञानेन्द्रले ४३ बलमा ५२ रनको योगदान दिए ।

त्यसपछि विनोद भण्डारी ७ रन मात्र बनाउँदै सस्तैमा आउट भए । चौथो क्रममा आएका कप्तान पारस खड्काले १७ बलमा २१ रन तथा शरद् भेषवाकरले २ रन जोडेपछि नेपालले विजयी लक्ष्य भेटाएको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा पूरै विकेट गुमाउँदै नेपाललाई १२२ को लक्ष्य दिएको थियो । अमेरिकालाई कम स्कोरमा समेट्न नेपालका लागि शक्ति गौचन र वसन्त रेग्मीले तीन तीन, सोमपाल कामीले दुई तथा सागर पुनले एक विकेट लिएका थिए ।

अमेरिकाका लागि फाहद बाबरले २३, हमाद सहिदले पाँच, अकिम डोडसनले ३९, शिव भासिसातले तीन, म्रुनल पटेलले सात, करन गणेशले १५, जापिन पटेलले एक, अधिल भट्टीले १४, क्याप्टेन मोहमद घाउसले २ र तिमिल पटेलले दुई रन जोडेका थिए ।

टि–ट्वन्टी प्रतियोगितामा नेपाली टोली अमेरिकासँग पहिलो पटक आधिकारिक खेलमा आमनेसामने भई पहिलो जित हासिल गरेको हो । यसअघि सन् २०१३ मा संयुक्त अरब इमिरेट्स (युएई) मा भएको टि–ट्वन्टी विश्वकप छनोट प्रतियोगिताको अभ्यास खेलमा नेपाल अमेरिकासँग पाँच विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया