राजधानीकै प्राथमिक स्वास्थ्य केन्द्रमा छैनन् चिकित्सक

इनेप्लिज २०७२ असार २५ गते ८:५२ मा प्रकाशित

गोकर्णेश्वर (काठमाडौँ), २५ असार । गोकर्णेश्वर नगरपालिका–१०को गोकर्ण प्राथमिक स्वास्थ्य केन्द्रमा चार वर्षदेखि चिकित्सक नहुँदा त्यस भेगका स्थानीय जनता चिकित्सा सेवा पाउनबाट वञ्चित भएका छन् ।

गोकर्ण स्वास्थ्य केन्द्रबाट स्तरोन्नति गरी आर्थिक वर्ष २०६३÷६४ मा प्राथमिक स्वास्थ्य केन्द्र बनाइएपछि अनिवार्यरुपमा एकजना चिकित्सक रहने कानुनी व्यवस्था छ ।

स्तरोन्नति भएपछि डा सरिता श्रेष्ठ कहिलेकाहीँ आई स्वास्थ्य परीक्षण गर्ने गरेको भए पनि उहाँको २०६९ सालमा सरुवा भएपछि केन्द्रमा चिकित्सक छैन । चिकित्सकको अभावमा बिरामीले सहज सेवा नपाएको स्थानीयवासी श्याम श्रेष्ठको गुनासो छ ।

सरकारले अझैसम्म पनि उक्त केन्द्रमा दरबन्दीका चिकित्सक खटाउन सकेको छैन ।

बुधबार व्यवस्थापिका–संसद्मा राष्ट्रपति डा रामवरण यादवले प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा एक गाउँ एक चिकित्सक र एउटा नगरपालिकामा १५ श्ययाको अस्पताल स्थापना गर्ने उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा यस्तो उल्लेख गरिए पनि राजधानीकै प्राथमिक स्वास्थ्य केन्द्रमा समेत सरकारले चार वर्षदेखि चिकित्सक पठाउन सकेको छैन ।

केन्द्रका निमित्त इञ्चार्ज जनस्वास्थ्य अधिकृत हरिप्रसाद उपाध्याय चिकित्सकको स्थायी दरबन्दी भए पनि चार वर्षदेखि खाली भएको बताउनुहुन्छ । “विसं २०७१ चैतदेखि छात्रवृत्तिमा अध्ययन गरी दुई वर्षको सेवाका लागि आउनुभएकी डा चारु क्षेत्री पनि तालिममा जानुभएकाले गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट बिरामी वञ्चित भएका छन्” – उहाँले भन्नुभयो ।

केन्द्रमा एकजान चिकित्सक, एक स्वास्थ्य सहायक, एकजना परिचारिका, तीन अनमी, तीन अहेब, एकजना ल्याब असिस्टेन्ट र कार्यालय सहयोगी दुई गरी १२ जनाको दरबन्दी छ ।

केन्द्रमा एकजना अनमीको दरबन्दी पनि लामो समयदेखि खाली छ ।
केन्द्रमा २४ घन्टा सेवा दिने गरी ‘बर्थिङ सेन्टर’को स्थापना गरिए पनि स्वास्थ्यकर्मी नभएको भन्दै बिरामी अन्यत्रै जाने गरेका छन् । विसं २०७१ मा जम्मा १३ महिलामात्र बच्चा जन्माउन केन्द्रमा आएको तथ्याङ्क छ ।

विसं २०७१ फागुनमा ८२४, चैतमा ७२१, विसं २०७२ वैशाखमा ५१० र जेठमा ८९९ बिरामी उपचारका लागि यस केन्द्रमा आएका छन् ।

साविकको गोकर्णेश्वर गाविसभर स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको केन्द्रले नगरपालिका घोषणा भएपछि वडा नं ९, १० र ११ मा स्वास्थ्य सुविधा दिने गरेको छ । केन्द्रले ४० किसिमका औषधि निःशुल्क वितरण गर्दै आएको दाबी गरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख श्रीकृष्ण भट्टराई करारको चिकित्सक भएका स्थानमा दरबन्दीको चिकित्सक पठाउन चासो नदिइएको स्वीकार्नुहुन्छ ।

प्रतिक्रिया