सिस्नोले रोजगारी सुरक्षित

इनेप्लिज २०७२ असार २५ गते ४:२६ मा प्रकाशित

sisno-300x214बाजुरा, २५ असार । मानाकोट–८ की राजदेवी रोकाया अहिले घरको कामधन्दाबाट बचेको समयमा सिस्नो टिपेर सुकाउने गरेकी छन् । उनले घरमै बसेर फुर्सदमा गरिएको कामले मनग्य आम्दानी हुने देखेपछि सो काम सुरु गरेकी हुन् ।

गाईभँैसीलाई पकाएर खुवाउने काममा मात्र काम लाग्ने र प्रयोगविहीन सिस्नो मान्छेले खाँदा स्वास्थ्यलाई फाइदा हुने र बजारमा यसको खोजी हुने कुरा थाहा पाएपछि अहिले गाउँमा सिस्नो सुकाएर जम्मा गर्ने चटारो चलेको हो ।

छतारा गाविसका केशव बुढा पनि गाउँमा आफू पनि सिस्नो टिप्छन् र गाउँलेलाई समेत यहीँ काम गर्न अनुरोध गर्ने गरेका छन् । गाउँमा पहिले पहिले सिस्नो खानेलाई हेपिन्थ्यो । घरमा खान नपुगेकाले सिस्नो खान्छन् । यस्ता कुराले यसभन्दा अगाडि गाउँमा सिस्नोको प्रयोगमा कमी आएको थियो ।

केही महिनायता जुगाडाका भीमबहादुर रोकायासमेत सिस्नो टिपेर सुकाउने अभियानमा लागेका छन् । गाउँभरि सार्वजनिक जग्गा, खेत, बारीको कान्ला र वनमा हुने सिस्नो सङ्कलन गरेर यहाँका स्थानीय बजारमा बिक्री हुने देखेपछि आफू पनि यसमा लागेको रोकायाले बताए ।
चालीस केजी हरियो (काँचो) सिस्नो सुकाएर पाउडर बनाउँदा जम्मा तीन केजी मात्र हुने गरेको छ । सिस्नोका मोटो र कडा पात सुकाउन नमिल्ने र मुनाहरु मात्र सुकाएकोलाई उद्योगले खदिर गर्ने सर्त राखेकाले पनि यसो हुने गरेको छ । “सिस्नोको मुना मात्र सङ्कलन गरेमा गुणस्तरीय हुन्छ । स्वादिलो पनि हुन्छ”, दहकोट गाविसका रामचन्द्र शार्कीले भन्नुभयो ।

गाउँमा पाइने सिस्नो सङ्कलन गरेर गुस्तरीयता ल्याउनमा केही समस्या भएको सृजना मसला उद्योगका सञ्चालक अमर खड्काले बताउनुभयो । “हामीले सङ्कलन गरेका सिस्नोलाई मेसिनमा पिस्ने गरेका छौँ । सङ्कलनकर्ताले सिस्नो सङ्कलन गरेर राम्रोसँग सुकाएन भने हाम्रो सामानमा गुस्तरीयताको प्रश्न हुन्छ ।” यसको सङ्कलनपछि गुस्तरीयतामा समेत सचेत रहन जरुरी छ ।

गाउँमा सिस्नो सङ्कलन गर्ने प्रचलन थिएन अहिले हामीले किन्न सुरु गरेका छौँ । त्यस कारण केही गाउँलेले सुरु गरेको खड्काले बताउनुभयो । स्थानीय बजारमा प्रतिकेजी २०० का दरले बिक्री हुने गरेको छ । “सङ्कलनकर्ताबाट आएको सिस्नोलाई पिसेर प्याकिङ गरेर बजारमा लिने गरेका छौँ ।

स्थानीयवासीले आफ्नै मुट्ठीमा हिरा भए पनि चिन्न नसकेकाले आम्दानी हुन सकेको छैन । नत्र जिल्लाले सिस्नोबाट मात्र थुप्रो आम्दानी गर्न सक्ने अवसर रहेको छ । बहुसरोकारवाला वन कार्यक्रमले उद्यमीलाई र उद्यमशीलतामा उन्मुखका लागि केही सहयोगी कार्यक्रम ल्याएको जानकारी मिस बाजुराका अध्यक्ष तुलसी रोकायाले दिनुभयो ।

जिल्लामा अबका दिनमा बहुसरोकारवाला वन कार्यक्रमले सङ्कलनका लागि चिम्टा, चक्कु र पञ्जा सहयोग गर्ने बताएको छ । कार्यक्रमका जिल्ला संयोजक पवीन्द्र शाहीले बजारसँग सम्बन्ध विस्तार, लेबलिङलगायतका काममा सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया