मृत्यु जितेर आए अनिश

इनेप्लिज २०७२ असार २४ गते १५:३६ मा प्रकाशित

42काठमाडौँ, २४ असार । “एक प्रकारले मरिसकेको जिन्दगी पुनः जीवन पाएँ । अहिले आफ्नो जन्मभूमिमा छु, मलाई यो सपना जस्तो लागेको छ । तर यो सत्य हो, नेपाल आमाको ममताले म आउन सकेको छु ।”

संयुक्त अरव इमिरेट्स (युएई)को झ्यालखानामा दुई वर्ष नौ महिना बन्दी जीवन बिताएर पहिलोपटक आज राजधानीमा सार्वजनिक भएका मच्छेपोखरी –३, सङ्खुवासभाका अनिश खालिङ राईको पीडानुभूति हो यो ।

रोजगारीका लागि २०६७ साल फागुनमा दुबई गएका २४ वर्षीय राई केही महिनापछि नै पाकिस्तानी नागरिक बङ्गाल खान मिसल दिनको हत्या अभियोगमा थुनामा पर्नुभयो ।

काम गर्ने सिलसिलामा राईको ती पाकिस्तानी नागरिकसँग आक्कल झुक्कल भेट हुन्थ्यो । एक दिन उनले राईमाथि जबरजस्ती समलिङ्गी व्यवहार गर्न खोजेपछि प्रतिकार गर्दा ती पाकिस्तानीको मृत्यु भयो । “दुवैतर्फबाट कुटाकुट भएको हो, कुटाकुटपछि मत उनीबाट बचेर भागिसकेको थिए, भोलिपल्ट प्रहरी आएर समाएपछि थाहा भयो उनको त मृत्यु भएछ”, राईले आफू फसेको कारण सुनाउँदै भन्नुभयो ।

राईसँगको बयानपछि स्थानीय प्रहरीले हत्याको पुष्टि ग¥यो र ०६८ वैशाखमा मृत्युदण्डको सजाय सुनाइयो । “म भर्खर विदेश गएको हुनाले भाषाको ज्ञान थिएन, जसले गर्दा मैले म माथि पाकिस्तानीले गरेको अन्यायप्रति त्यहाँको प्रशासनलाई बुझाउन सकिन र हत्या स्वीकारे जस्तो भयो”, आफू फस्नुको कारण खुलाउँदै राईले भन्नुभयो ।

मृत्युदण्डको सजाय भए पनि अन्त्यमा स्थानीय सरकारले रु ८६ लाख बराबरको रकम ‘ब्लड मनि’ स्वरुप उपलब्ध गराएमा राईलाई सकुसल रिहाइ गर्ने सर्त राखेको थियो । नेपालमा नारदकुमार राईको सङ्योजकत्वमा ‘अनिश खालिङ राई बचाउ अभियान समिति’मार्फत उहाँको रिहाइको लागि खातामा रु तीन करोड २१ लाख बराबरको रकम जम्मा भएको छ ।

तर ‘ब्लड मनि’को रकम लिएर युएइ गएका समितिका सदस्य त्यति बेला छक्क परे, राईको रिहाइका लागि कसैले रकम तिरिसकेको थियो । सेल्सम्यानको काम गर्न विदेश गएका राईले घरेलु कामदारको रुपमा काम गर्नु मात्र परेन अनायासमै कारागारको जीवन जीउन बाध्य हुनुप¥यो । जीवन संगीनी रविता र अढाई वर्षीय छोरीलाई साक्षी राख्दै राई भन्नुहुन्छ, “अब नेपालमै बसेर केही गर्छु, म जस्तै अनायासमै विदेशी कारागारमा फसेका नेपालीको रिहाइका लागि मेरो यही संस्था (अनिश खालिङ राई बचाउ अभियान समिति)मार्फत सहयोग गर्छु ।”

महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृति मुनामदनको एउटा पङ्क्ति ‘हातका मैला सुनका थैला के गर्नु धनले साग र सिस्नु खाएको बेस आनन्दी मनले’ उच्चारण गर्दै राईले भन्नुभयो, “अब मेरो जिन्दगी यस्तै हुनेछ ।”

प्रतिक्रिया