आइतबार, जेठ ८ २०७९
काठमाडौं १४:०६
वासिङटन डिसी 04:21

संविधान निर्माणको राष्ट्रिय अभियानमा सरिक हुन आह्वान

इनेप्लिज २०७२ असार २४ गते १४:१५ मा प्रकाशित

Subash-Nembangकाठमाडौँ, २४ असार । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधान निर्माणको राष्ट्रिय अभियानमा सरिक हुन सम्पूर्ण नेपाली जनतामा आह्वान गर्नुभएको छ ।

‘नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदा’बारे नेपाली नागरिकको सुझाव सङ्कलन कार्ययोजना आजको संविधानसभाबाट पारित भएकाले शुक्रबारदेखि खटिने टोलीलाई आआफ्ना सुझाव उपलब्ध गराउन उहाँले आह्वान गर्नुभएको हो । संविधानसभा सचिवालयमा आज पत्रकार सम्मेलन गरी सभाध्यक्षले नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आजै तालिका सार्वजनिक गरेकाले संविधान निर्माणको अति महत्वपूर्ण राष्ट्रिय अभियानमा सहभागी हुन आम जनतालाई अनुरोध गर्नुभयो ।

‘‘संविधानको प्रस्तावित मस्यौदा पहिलो संविधानसभाको कार्यकालमा जनताका रायसुझाव सङ्कलन गरी प्राप्त सुझावअनुसार बनेको अवधारणापत्रमा आधारित भई वर्तमान संविधानसभाले तयार गरेको छ,’’ उहाँले भन्नुभयो ‘‘संविधानसभाले अघि बढाइरहेको संविधान लेखनको काम पूर्ण रुपमा नेपालको अन्तरिम संविधान, २०६३, संविधानसभा नियमावली, २०७० एवम् विधिको शासन र लोकतान्त्रिक प्रक्रिया अनुकूल छ ।’’

जनतासमक्ष प्रस्तुत हुने मस्यौदा प्रारम्भिक मात्र भएकाले नेपाली नागरिकबाट प्राप्त सुझावका आधारमा त्यसलाई परिमार्जन गरी संविधानसभाले विधेयक तयार गर्ने संविधान लेखनका प्रक्रिया स्पष्ट पार्दै उहाँले आफूलाई लागेका कुनै पनि विषयमा सुझाव दिन आग्रह गर्नुभयो ।

अघिल्लो संविधानसभाले जनताबाट प्राप्त अभिमतलाई समेट्दै तयार पारेको अवधारणापत्रका आधारमा जनताले बुझ्ने भाषामा मस्यौदा तयार गरिएको प्रस्ट्याउँदै सभाध्यक्षले आगामी साउन ४ र ५ गते प्रत्येक निर्वाचन क्षेत्रमा आयोजना हुने सर्वपक्षीय भेला÷बैठकमा उपस्थित भएर सुझाव सङ्कलन टोलीलाई आफ्ना राय प्रस्तुत गर्न अनुरोध गर्नुभयो ।

सर्वोच्च अदालत, विभिन्न सङ्गठित सङ्घसंस्था, सभासद् र निकायबाट प्राप्त सुझाव र फरक मतलाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा प्रस्तुत गरिने र सोही समितिमार्फत मस्यौदालाई परिष्कृत र मजबुत बनाउँदै जनताले स्वामित्व लिने ढङ्गको संविधान बनाइने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया