मुलुकले छिट्टै संविधान प्राप्त गर्छ: ओली

इनेप्लिज २०७२ असार २४ गते १३:४९ मा प्रकाशित

Rss_Images_1436447858722_KRG-KTM-Smirti dibasकाठमाडौँ, २४ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले अब छिट्टै नयाँ संविधान प्राप्त गर्ने बताउनुभएको छ ।

छविलाल कार्की स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्कीको पाँचौँ स्मृति दिवसमा उहाँले संविधानको प्रारम्भिक मस्यौदा पारित भई सुझावका लागि जनतामा जाने क्रममा रहेकाले चाँडै संविधान जारी भई मुलुक आधुनिकीरणतर्फ अघि बढ्ने बताउनुभयो ।

उहाँले आफ्नो पार्टीको दृष्टिकोण, दृढता तथा अन्य दलको साथ सहयोगले चार दलबीच गत जेठ २५ गते सोह्रबुँदे सहमति भएको विचार व्यक्त गर्दै संविधान जारी भएपछि संविधानसभा भङ्ग गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष ओलीले मुलुकमा लोकतन्त्र स्थापनाका लागि कार्कीको विचार र आदर्शबाट विचलित भएका समूहले उनको हत्या गरे पनि कार्कीको विचार सधैँ अमर रहने बताउँदै मानवीय अस्तित्व र जीवनको गरिमाविरुद्ध गरिने राजनीति कहिले पनि सफल नहुने धारणा राख्नुभयो ।

ओखलढुङ्गामा पाँच वर्षअघि एमालेका युवा नेता कार्कीको हत्या भएको थियो । पार्टी महासचिव ईश्वर पोखरेलले नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका कार्कीजस्ता सपूतको त्याग र सङ्घर्षबाट पार्टीले अहिले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण उचाइ कायम गरेको बताउनुभयो ।

नेपाली काँग्रेसका नेता होमनाथ दाहालले फरक राजनीतिक विचार र आस्थालाई समेत कार्कीले उच्च सम्मान गर्ने गरेको स्मरण गर्दै ओखलढुङ्गाले मात्र नभई समग्र मुलुकले परिपक्व र अनुभवी नेता कार्कीलाई गुमाएको बताउनुभयो ।

सभासद्द्वय यज्ञराज सुनुवार र शकुन्तला राजभण्डारीले मुलुकलाई समृद्ध बनाउने र कम्युनिष्ट आन्दोलनलाई एकीकृत र सबल बनाउन कार्की सदैव चिन्तित हुनहुन्थ्यो भन्नुभयो ।

उक्त कार्यक्रममा त्यस क्षेत्रबाट प्रवेशिका परीक्षामा उत्कृष्ट अङ्क ल्याउने १० विद्यार्थीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया