शुक्रबार, जेठ ६ २०७९
काठमाडौं ००:४२
वासिङटन डिसी 14:57

तपाईंहरुले सम्मान पाउनुहुन्छ भने छोरी मरिसकी भन्नुहोला !

इनेप्लिज २०७२ असार २४ गते ११:३८ मा प्रकाशित

 

Namrata-Shrestha-Novel-362x600

आदरणीय आमा/बाबा ! अभागी छोरीको तर्फबाट हजुरहरुलाई ढोग छ ।

बाबा/आमा ! खै कहाँबाट सुरु गरुँ लेखाइ यात्रा । तीनवर्षको लामो बिछोडलाई कागजको सानो टुक्रामा लिपिबद्ध गर्न सक्ने सामथ्र्य मसँग छैन । तर पनि मनको बह पोख्ने प्रयास गर्दैछु । मेरो यो पत्रले हजुरहरुलाई मप्रति झनै क्रोध बढ्न सक्छ । पत्रप्राप्त गरेपछि हजुरहरु अपमानबोध भए सरह आक्रोशका ज्वारभाटाहरु मप्रति फुटाउन सक्नुहुन्छ । हजुरको छोरी भएकाले हजुरहरुले जे–जस्तो भने पनि, तिरस्कार गरेपनि, सजाए दिएपनि, हिजोका दिनमा जसरी हाँसी–हाँसी सहेको थिएँ, आज पनि सहनेछु, भोली पनि सही रहनेछु ।

म घरकी जेठी छोरी । पहिलो सन्तानलाई काखमा राख्न पाउँदा आमा र बाबाले दिउँसै खुशीको चन्द्रमा झुल्केको आभाष गर्नु हुन्थ्यो । म ठूलो हुँदासम्म मैले नखाँदा आमाको गलामा खाना छिर्दैनथ्यो । म नसुत्दा बाबा रातभरि जागाराम बसेको मलाई अहिले पनि सम्झना छ । तर समयको हुरीले आज मेरा बाबा–आमा, घरपरिवार सबैसँग म धेरै टाढा भएको छु । भयानक अपराध गरे जस्तो कहालीलाग्दो सजाय व्यहोरिरहेको छु । जसलाई शव्दमा बयान गर्न सक्ने सामथ्र्य मसँग छैन ।

आफू जन्मिएको अनि हुर्किएको घर मबाट धेरै टाढा पनि छैन । एउटै शहरमा हामीहरुले गुजारा गरिरहेका छौं । एउटै सडकमा दिनहुँ हाम्रा पाइलाहरु लम्कन्छन् । एउटै हावाको झोकाले हामीलाई स्पर्श गरिरहन्छ । सूर्यको ताप, बादलको छायाँ अनि हामीलाई भिजाउने वर्षाको थोपाहरु एउटै हो । हामीले पिउने पानीको वितरण प्रणालि पनि एउटै छ । तर विडम्वना मान्नुपर्छ, म भीडमा हराएको मान्छे जस्तो आफन्तहरु मेरा लागि बिरानो छन् । म आफन्तहरुको बथानमा टुहुरो÷अनाथ सन्तान जस्तो दिनचर्या बनाउन बाध्य छु । हुन त यसमा मेरो पनि दोष छ । बाबा–आमाले मेरो लागि धेरै कुरा सोंच्नु भएको थियो । त्यो उहाँको अधिकार र कर्तव्य पनि हो । तर प्रेमको बतास अनौठों आकर्षण बोकेर उड्दो रहेछ । यसले छोएपछि उडाउँछ भन्ने थाहा हुँदा–हुँदै यसका झोकाहरुसँग पैठेजोरी गर्दै यसैमा लिप्त भएर उडनका लागि मन यतिधेरै आतुर हुने रहेछ कि, यसबाट अलग हुन न मैले सकेँ, न अरु कसैले नै सक्छ जस्तो मलाई लाग्छ । तसर्थ मैले प्रेमको संसारमा पाइला राखेर गल्ती नै गरे भन्ने पक्षमा पनि छैन् । यसका आफ्नै मूल्य र मान्यता हुँदा रहेछन् । बाल्यकालदेखि नै शान्त, सरल अनि मिजासिलो बन्नुपर्छ भनेर अर्ति उपदेश पाएकाले प्रेमको सवालमा कठोर बन्न सकिन । मान्छे–मान्छे एउटै हो, काटेपछि सबैको रगत आउँछ, सबैले खाना खान्छन्, हावा, पानी अनि घाम सबैलाई चाहिन्छ भन्ने कुरा पढ्दै र सुन्दै आएको छु । त्यसैले मनको मझेरीमा जातभातको तराजुमा मान्छेहरुलाई जोखेर राख्ने काम मबाट हुन सकेन । मेरो मनले शितलता प्राप्त गरेको व्यक्तिलाई जीवनसाथीका रुपमा रोज्न पुगे । उसँग म धेरै खुशी पनि छु । उसले आफ्नोतर्फबाट मलाई सक्दो खुशीहरु दिइरहेको छ । भौतिक रुपमा संसारको सबै एशोआरामा उसले किनेर दिएको छ भन्ने पक्षमा त म छैन । तर दुईछाक राम्रोसँग खान दिएको मेरो मान्छेले मनको खुशी यति धेरै दिएको छ कि मलाई लाग्छ म संसारको सबैभन्दा खुशी नारी हुँ । समय, परिस्थिति अनि भाग्यले साथ दियो भने भौतिक सुखहरु पनि मैले प्राप्त गर्नेछु ।

तपाईहरुलाई चिढाउनका लागि, तपाईहरुको मन दुःखाउनका लागि या तपाईहरुसँग प्रतिष्पर्धा वा प्रतिशोध साट्नका लागि मैले यो कुरा भनि रहेको छैन । तपाईहरुलाई केवल जानकारी मात्र दिन खोजेको हुँ, बास्तवमै तपाईको छोरी श्रीमतीकारुपमा अत्यन्त खुशी छे । तपाईहरुले मेरो बिबाह नहुँदा सधैजसो असल, राम्रो, सभ्य जुवाई पाऔं भनेर जसरी बारम्बार भगवान सामु प्रार्थना गर्नु हुन्थ्यो, तपाईँहरुको प्रार्थनाकै कारण मेरो लागि भगवानले असल साथी जुराई दिनुभएको हो । फरक यति हो, हजुरहरुले नखोजेर मैले नै उहाँलाई खोजेँ, अनि रोजँे । श्रीमतीका रुपमा म संसारको सबैभन्दा खुशी श्रीमती हुँ जस्तो लाग्छ । अनि बुहारी, भाउजुका रुपमा पनि हाम्रो घरमा म अत्यन्त प्रिय र सम्मानित छु । बाबा–आमासँग हुँदा जे खान्थे, जसरी निदाउँथे, त्यसरी नै यहाँ बसिरहेको छु । यहाँका मान्छेले खाने अनाज, सुत्ने बिछौना पनि उस्तै छ । पानीको स्वाद उही हो । तर बाबा–आमा दुःखका साथ भन्नु परिरहेको छ, छोरीका हिसाबले म संसारकै सबै भन्दा दुःखी बन्न पुगेको छु । आफैलाई संसार देखाउने आमा–बाबालाई हेर्न मन लाग्दा तस्विर छुनुपर्ने, बोल्न मन लाग्दा अतीततर्फ फर्कनु पर्ने, आर्शिवाद चाहिँदा तपाईँहरुको झझल्कोलाई पछ्याउनुपर्ने । भाइबहिनी अनि इष्टमित्रहरुसँग भेट्नका लागि आफ्नै आमाबाबाले देख्लान भनेर एकान्त खोज्नुपर्ने ? यो कस्तो बाध्यता ! यो कस्तो विवशता !

Sabin-Priyasan-Dang

तपाईहरु नै भन्नुहोस् आफन्तहरुको वियोगमा बाँचिरहेको तपाईँको यो छोरीले साँच्चै नै प्रेम विवाह गरेर गम्भीर अपराध गरेकै हो ? जानी–जानी वा अन्जानमा अपराध गर्नेहरुले पनि निश्चित समयको काराबास पाउँछन् । उनीहरुलाई सुधरिनका लागि मौका दिइन्छ । तर मैले जतिबेला जोसँग पनि हुन सक्ने अमरप्रेमका कारण अग्रजहरुबाटै यति भयानक सजाय पाएको छु कि अनाथ व्यक्तिको जस्तो दिनचर्या बनेको छ । दशैं, तिहार, तीज किन आउँछ जस्तो लाग्छ । अनि कसैले थाहा नपाउने गरी एक्लै बसेर समाजमा विभेदको रेखा कोर्ने

ठेकदारहरुलाई अनगिन्ती श्रापहरु दिन्छु । यदि समाजमा जातभातको खाडल नकोरिन्थ्यो भने आज म मेरो आमाबाबाहरुको समीपमा हुने थिए । उहाँहरु छोरीको खुशीमा रमाउनु हुन्थ्यो । आखिर कसले बनाएको हो जातभातको रेखा ? मान्छेहरुलाई उसको बानी, व्यबहार, कर्मका आधारमा ठूलो सानो भन्नुपर्ने हो । समाजमा त्यही किसिमको स्थान हुनुपर्ने हो तर जातकै आधारमा किन यति धेरै पक्षपात किन ? कथित ठूलो जात भनिएको खलकमा जन्मिदैंमा कर्म नगरेमा त्यो मान्छे समाजमा नायक, अभियन्त, लिडर, सफल व्यक्ति बन्नै सक्दैन भन्ने
कुरा किन सबैले बिर्सिएका छन् ? अनि कथित तल्लो जातको खलकमा जन्मिएको व्यक्ति पनि इमान्दार, सिपयुक्त, मेहनती, क्षमतावान छ भने त्यो मान्छे पनि सफल बन्न सक्छ भन्ने कुरालाई किन थाहा पाएर पनि बुझ पचाउने काम यहाँ भइरहेको छ ? आखिर हामीले विभेदको रेखा कोरेर कसलाई खुशी बनाउन खोजिरहेका छौं ? मान्छे–मान्छे एउटै हो, सफल्ता र असफलता, राम्रो र नराम्रो उसको कर्मले निर्धारण गर्छ भन्ने कुरालाई पनि बंगाउन खोज्ने दुस्प्रयास किन हामीले नै गरिरहेका छौं ? तसर्थ माइती देशमा मप्रति निकृष्ट व्यवहार भएपनि छोरी भएका नाताले तपाइहरुप्रतिको माया, श्रद्धा कम गर्न सक्ने साहस म मा छैन । तपाईहरुले मलाई तिरस्कार गरिरहनुहोस् म मेरो मनको सिंहासनमा हजुरहरुलाई जिन्दगीभर सुरक्षित तवरबाट राखि रहनेछु । आजसम्म म तपाईहरुको शहर जसलाई तपाईहरु जस्तै अग्रजहरुले जातभातको तराजुमा जोखेर फरक मूल्य र मान्यताको धरातलमा रहेर बनाउनु भयो । सायद अब म तपाईहरुको यो क्रूरताले भरिएको शहरमा धेरै दिन मेरो सानो संसारलाई जोगाउन सक्दैन । पाइला–पाइलामा अनेककोणबाट उठाइने प्रश्न अनि तिरस्कारको लबेदालाई सहन सक्ने शक्ति अब मसंग छैन । त्यसैले एक्लो सही हामी यहाँबाट धेरै टाढा जाने निष्कर्षमा पुगेका छौं । जहाँ हामीलाई कसैले धारे हात लगाउँदैन, मेरा कारण मेरो बाबुआमालाई जुन ठाउँले अपमान बोध गराउँदैन, त्यस्तो ठाउँमा गएर बचेको जीवन बिताउने योजना हामीले बनाएका छौं । तपाईहरुले त आडम्बरी यो समाजलाई सजिलै भन्न सक्नु हुन्छ होला मेरो जेठी छोरी मरि सकि भनेर, तर म मेरो बाबा–आमालाई कल्पनामा समेत यो अवस्थामा पुगेको हेर्न सक्दिन । त्यसैले हाम्रो सन्तानलाई यी सबै घटना र परिघटनाहरुको बारेमा जिन्दगीभर थाहा नदिनका लागि यहाँबाट धेरै टाढा जाँदैछु । मलाई थाहा छ आफन्तसंगको वियोगमा मेरो आयु छोटो हुनेछ । पलपल म मर्नेछु । त्यसैले छोरीको कोणबाट आज पराजित भएर आफ्नो शहर छाडेर जाँदैछु । छोरीको जन्म पनि सदैभरी हार्नकै लागि हुँदो रहेछ । कदम–कदममा हार, पराजय, अपमान छोरीहरुको दिनचर्या हो । पुरुषप्रधान राज्य व्यवस्थाभित्र पिल्सिएका सबै छोरीहरुको दर्दनाक अवस्था यस्तै छ । सायद छोराहरुले यस्ता कार्य गर्दा उ घरपरिवारको बाइलो भने पक्कै पनि बन्न पर्दैन । तर छोरीहरुलाई अपमान र तिरस्कारको घुट जिन्दगीभरि पिउनुपर्छ । यो पत्र बुबाआमाले पाउँदासम्म हामी धेरै टाढा पुगिसकेका हुनेछौं । सदा–सदाका लागि, टाढा बनि सकेका हुनेछौं ।

उही तपाईकी अभागी छोरी (पुष्पाञ्जली)
(नम्रता उपन्यासबाट)

प्रतिक्रिया