कैलाश सन्न्यास आश्रमको उत्खननमा १५औँ शताब्दीका वास्तुशैली भेटिए

इनेप्लिज २०७२ असार २४ गते ३:१५ मा प्रकाशित

कावासोती, २४ असार । पुरातत्व विभागबाट यहाँको कैलाश आश्रमको उत्खननका क्रममा १५औँ शताब्दीका वास्तुशैली भेटिएको छ ।

सत्र दिन उत्खननका क्रममा एक हजार २७६ टुक्रा वास्तु अंश भेटिएको आश्रमका अध्यक्ष दुर्गा भुसालले बताउनुभयो । फलामको मोटो काँटी, पत्थरको टाउको आकारको वस्तु उत्खनन टोलीले राष्ट्रिय सङ्ग्रहालयमा राख्ने गरी लगेको उहाँले बताउनुभयो ।

टहरा बनाउन खोज्दा रुखका जरामुनि ठूलाठूला इँटा र चित्र कोरिएको ढुङ्गा भेटिएकाले यसको उत्खननमा पुरातत्व विभागलाई जानकारी गराएको भुसालले भन्नुभयो ।
ऐतिहासिक एवम् सांस्कृतिकरुपले महत्वपूर्ण रहेको यो आश्रमको जीर्णद्वार गर्ने क्रममा पुराना वास्तुकलाको सामग्री फेला परेपछि स्थानीयले पुरातत्व विभागमा जानकारी गराएपछि गत वर्षबाट यहाँ उत्खनन सुरु भएको हो ।

नवलपरासीको सिक्रौलीस्थित नारायणी नदी किनारमा रहेको यो आश्रम १५÷१६औँ शताब्दीको पुरानो रहेको उत्खननमा सहभागी पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभयो ।

गत वर्ष एक हप्ता उत्खनन गरेपछि फर्केको टोलीले यस वर्ष १७ दिन फेरि उत्खनन गरेको थियो । असार ६ गतेदेखि २२ गतेसम्म कँुवरको टोलीले उत्खनन गर्ने क्रममा मुकुन्दसेन प्रथमका पालाका केही शैलीगत वास्तुको अंश फेला पारेको थियो ।

मानव विकासको चरणसँगै १५औँ शताब्दीमा रुद्रसेनले पाल्पाअन्तर्गत राज्य गरेको हुनसक्ने आधारसमेत भेटिएको छ । इतिहास कति पुरानो हो हामी खोज्छौँ प्रवक्ता कुँवरले भन्नुभयो “हामीले यस वर्ष यसको अध्ययन र उत्खननको काम सक्छौँ त्यसले वास्तुशैलीको जानकारी दिन्छ ।” उत्खनन गर्दा ठूलाठूला ढुङ्गामा कुदिएको शिव भगवान्को चित्र रहेको छ भने सुदर्शनचक्र लगाएका वस्तुहरु भेटिएको छ, पुराना इँटा फेला परेको छ ।

यहाँ करिब डेढ मिटर जस्ती गहिरो उत्खनन गरिएको छ । विभागले ७२ जिल्लाको पुरातात्विकस्थलको भग्नावशेषको अध्ययन गरी उत्खननको काम थालेको हो । पुरातत्व विभागका भेषनारायण दाहालको भ्रमणले उत्खनन गराउन सहयोग मिलेको मुकुन्दपुरका मधुकर मल्लले जानकारी दिनुभयो ।

बुटवल, मकनापुर, विजयपुर र चम्पारनसम्म सेन राज्य फैलिएको र १८१९ मा पृश्वीनारायण शाहले सेन राज्यमा कब्जा जमाएपछि उनीहरु भाग्दा यहाँको पूर्वाधार खण्डहर भएको अनुमान गरिएको छ ।

मान्छेले छोडेपछि जङ्गल ठूलो भयो पूर्वाधार भग्नावशेषमा परिणत भएको छ । नारायणी नदीको यो सिक्रौली घाट ऐतिहासिक धार्मिक क्षेत्र मानिन्छ । हरिबोधनी एकादशी अर्थात् ठूलो एकादशीमा यहाँ भव्य मेला लाग्ने गर्छ । उत्खननको प्रतिवेदन आएपछि यहाँको धार्मिक पर्यटन बढ्ने आश्रमका अध्यक्ष दुर्गा भुसालले बताउनुभयो ।

प्रतिक्रिया