दुखमा न आत्तिनु र सुखमा नमात्तिनु

इनेप्लिज २०७२ असार २३ गते २२:५६ मा प्रकाशित

sunil mani dahal

प्रबिधिमा भएको द्रुत गतीको विकासले संसार खुम्चिएर सानो भएको छ l सुचना प्रबिधिको तीब्र विकास सँगै इन्टरनेटमा ठूलो परीणाममा डाटा,भ्वाइसको साथै भिडियो आदान प्रदान हुन थालेको छ। स्मार्ट फोन, ट्याब्लेट आदिको विकासले त ठाउँको ठाउँ आफुले ईच्छाएको धेरै कामहरू गर्न सकिने भएको छ l नेपालमा भूकम्प आएको १० मिनेट भित्रै मैले फोनबाट म्यासेज पाएको थिए l त्यसको आधा घण्टा भित्रै देश विदेशका संचार माध्यमहरुले भुकम्पको समाचार प्रसारण गरेका थिए l नेपालमा आएको भूकम्प र त्यसले पुर्याएको क्षतिको खवरले अरूलाई झै मेरो मनलाई पनी टुक्रा टुक्रा पार्यो l यस पिडाले म अफिसमा पनि धेरै दिन सम्म काम गर्न सकिन l मेरा धेरै साथीहरुले नेपालमा परिवारहरुको बारेमा सोधीखोजी गरे l मेरा परिवारजनहरु सबै सन्चै रहेको समाचार पाए तर मेरो मातृभूमिलाइ भने ठुलो बेदनाको पिडाले छोएको अवस्था थियो l मैले सोचे आज म जे छु, जहाँ छु र जे गर्दैछु यसको सवै श्रेय मेरो मातृभूमि नेपाललाई नै जान्छ l मेरो आत्माले भन्यो – यस्तो बिपतमा एउटा नेपाली सन्तान भएर आफ्नो सग्लो र सिंगो घर हेरेर म कसरि बस्न सक्छु जबकि मेरा आफन्त छिमेकिहरु घरबार बिहिन भएका छन् lनेपाल जानु पर्दछ र आफ्नो क्षमताले भ्याएको सहयोग गर्नु पर्दछ l यसै अठोट अनुसार १३५ परिवारको लागि सरभाईवर किट्स सेट (पानी सफा गर्ने औषधी, पन्जा, मास्क, सेनेटाईजर, टर्च र मच्छर व्यान्ड) भएको ६ वटा डफल ब्याग सहित म नेपाल उडे l

सानै देखि केहि न केहि गरि रहने वानी थियो मेरो l कुनै दुख पाएको व्यक्ति देख्यो कि मन कटक्क भएर केहि सहयोग गर्न मन हुन्थ्यो l घरमा भएको बेला कोहि दुखी माग्न आउदा रित्तै हात कहिल्यै पठाईन! मेरो हजुरआमा धेरै दानी र अत्यन्त सरल हुनु हुन्थ्यो! उहाले पटक पटक आशिष दिनु हुन्थ्यो – “दुखमा नआत्तिनु र शुखमा नमात्तिनु”!

शायद उहाको आसिस अनुसार नै मेरो हस्तरेखा कोरिएको रहेछ l कुनै पनि बिपत पर्दा म उहाको यो भनाइ सदा याद आउदछ नेपाल गई पहिलो दिन मै पिडित परिवारलाई सिधै केहि गर्न सक्छु कि भन्ने सोच थियो तर अस्थ-व्यस्थ सरकारी प्रशासन, भौतारिएका पिडित जनता अनी भूकम्पले क्षत विक्षत बाटोको कारण चार दिन ढिलो गरि नुवाकोट स्थित जिल्ला प्रशासन कार्यालय पुगें l सिडियो कार्यालय समेत भूकम्पले भत्किएकोले केहि पर कर्मचारि मिलन केन्द्रको कार्यालयमा विस्थापित भएको रहेछ l जिल्ला प्रशासन संगको समन्वयमा चार घरे गाविस स्थित १०० घरका पिडित परिवारलाइ सहयोग प्रदान गरियो l यसको भोलि पल्टै अर्को ठुलो भुकम्प आइ फेरी विनास माथीको अर्को विनाश थपियो l म संग ३५ परिवारलाइ पुग्ने थप सामग्री वांकि थियो जसमा साना नानीहरू लाई लुगा र खेलौना थपि भक्तपुर स्थित निकोशेरा युथ क्लबलाइ हस्तान्तरण गरियो l यसरी सहयोग गर्न पाउदा मेरो चिमोटिएको र दुखेको मनमा केहि मलम लाग्यो l

नेपाल ऐले संकटकालिन अवस्थामा नै छ l यो मुलुक अनेकौ समस्याले बामे सर्दै गरेको अवस्थामा यस विनासकारी भुकम्पले झनै नेपालको आर्थिक र सामाजिक नक्सा नै परिबर्तन गरि दिएको छ! विनास एकै मिनेटमा हुदो रहेछ र विकासका लागि धेरै पसिना बगाउनु पर्दछ भन्ने पाठ सबै नेपालीले बुझ्ने भएका छन् l भूकम्प पछिको उद्दार र सहयोगका लागि नेपाली युवा, डाक्टर, नर्श, प्रहरी र सेनाले गरेको कार्य देखि म नतमस्तक नै भए l यसपालीको यो बिपतमा सबैको हिरो नै नेपाली युवा जनशक्ति थिए भन्दा दुइमत नहोला l यसरी सबैमा पबित्र मन र अठोट भए असम्भव केहि नहुदो रहेछ भन्ने पाठ पनी सवै नेपालीले सिकेको हुनु पर्दछ! रोजगारीको अभावमा बिदेसिएका नेपाली युवा जनशक्तिलाइ नेपालको पुननिर्माणमा रोजगारी दिन सकिए तथा यी जनशक्तिलाइ नेपाल निर्माणका लागि रोजगारीको ग्यारेन्टी गर्न सकिए पक्का पनि नेपालले निर्धारित समयमा विकाशको गति लिन सक्षम हुनेछ! यो देश नेपालीको हो र यसको विकास पनि नेपाली आफैले गर्नु पर्दछ l

दाताहरू भनेका सहयोगी हातहरू मात्र भएकोले यी सहयोगी हातमा हातेमालो गरी नेपालले पुननिर्माण कार्यको अगुवाई गर्नु पर्दछ! आफ्नो मातृभूमिको सेवा गर्न हजारौ बिदेसिएका नेपालीहरु पबित्र आस्थाका साथ् नेपालमा आए, सेवा गरे र फर्के lयसबाट हामीले हेक्का राख्नु पर्दछ कि दुनियाको जुन सुकै कुनामा रहेको भए पनि हामि एकै परिवारका सन्तान हौ र नेपाल हाम्रो मातृभूमि हो यसको विकास र सम्वृद्धिका लागि हामी सवैको वरावरी दायित्व छ l

मेरो २५ दिनको नेपाल बसाईमा मेरा घरएसी आफन्तहरु जो भूकम्प पछी सकुसल थिए,प्राय सवैलाई फोनवाटै सम्पर्क गरी वर्तमान अवस्थाको जानकारी लिए र वॉकी समय ती दुखि र पिडित परिवारसंग दुख र सुखका कुराहरू साटासाट गरि बिताएl

मन्दिरमा टाउको ठोकेर पुजारी लाइ दक्षिणा चढाउनु भन्दा दुखि र पिडितहरुको सेवाबाट नै मलाई अत्याधिक संतुस्टि प्राप्त भयो l सायद यही नै वास्तविक धर्म होला! म सधैं नेपाल आउदा पशुपतिनाथलाइ दर्शन गर्न जान्थे, तर यसपाली मैलेपशुपतिनाथलाई सिनामंगल वाटै दर्शन गरी धेरै गुनासो पोखे अनी खोलाको बगर, खाली जग्गा तथा अन्य स्थानमा तितर बितर भै बसेका भूकुम्प पिडितहरुलाइ भेटन गए l

करिब ४० जना जति खाली आकाश मुनी बसेका ति पिडितहरुको आवाज सुन्ने कोहि थिएनन! त्यो बगर जहाँ मैले ३ घंटा सम्म उनीहरुलाइ खाना खुवाउदै बिताए, त्यहि बाट मैले बिपत कस्तो हुन्छ भने अनुभव गर्ने मौका पाए l त्यस खुल्ला आकाशमा मैले मेरो हजुरआमाको आशिष सम्झे “दुखमा नआत्तिनु र सुखमा नमात्तिनु” lत्यहाँबाट बिदा हुने बेलामा झपक्क अँध्यारो भै सकेको थियो! म संग भएको ४० थान टर्च लाइट सवैलाई वितरण गर्ने क्रममा एक ७५ बर्षिया भूकम्प पिडित आमाले आशिष दिदै भनीन- बाबु तिमिले आज ठूलो धर्म गरेउ, तिमिलाई मेरो आशिर्बाद छ है l यी नै आमाको आशिर्बाद लिएर म मेरो कर्मभुमि अमेरिका फर्किए l

प्रतिक्रिया