महिलाको फेसबुक प्रोफाईल ह्याक गरेपछि…

इनेप्लिज २०७२ असार २३ गते १५:२४ मा प्रकाशित

b1c458dd6f1a598356f4a537afcdc27b_Lकाठमाडौँ, २३ असार । फेसबुकमार्फत मानसिक यातना दिने कार्यमा संलग्न बाँके नेपालगन्जका नृत्य प्रशिक्षकको काम गर्ने २३ वर्षीय राहुल वाल्मिकीलाई महानगरीय अपराध महाशाखाले नेपालगन्जबाट पक्राउ गरेको छ ।

राहुलले विभिन्न कलेज तथा विद्यालयमा अध्ययनरत छात्राहरु एवम् मोडलिङ क्षेत्रमा काम गर्ने ३५/४० जना मोडल महिलाको फेसबुकमा आफ्नो पहुँच कायम गर्न प्रोफाइल ह्याक गर्ने र ह्याक गरेर पीडितसँग बार्गेनिङ गर्ने गरेका थिए ।

पीडित महिला एवम् उनीहरुका फेसबुक साथीहरुलाई फेसबुकमार्फत सम्बन्धित व्यक्तिको गोपनीयता भङ्ग गर्ने, चरित्र हत्या गर्ने, यौन दुव्र्यवहार गर्ने तथा ह्याक प्रोफाइल फिर्ता गर्न रकमसमेत माग गरी चरम मानसिक यातना दिने कार्यमा संलग्न रहेको खुल्न आएको छ ।

महाशाखाले आवश्यक अनुसन्धानपश्चात् विद्युतीय कारोबारसम्बन्धी मुद्दामा कानुनी कारबाहीका लागि राहुललाई आज महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको छ ।

यसैगरी बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी अछाम जुपु गाविस बस्ने ३५ वर्षीय रामचन्द्र तिमिल्सिनालाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले नयाँबानेश्वरबाट आज पक्राउ गरेको छ ।

नेपाल राष्ट्र बैंकको पत्रले बैंकिङ कसुर मुद्दामा पुनरावेदन अदालत पाटन ललितपुरको २०७१ मङ्सिर २१ को फैसलाले तीन वर्ष कैद तथा रु एक करोड छ लाख जरिवाना ठहर भई बेरुजु रहेका तिमिल्सिनालाई ब्युरोले पक्राउ गरी काठमाडौँ जिल्ला अदालतमा पेस गरेको छ ।

यसैगरी अस्ट्रेलियामा पानीजहाजमा काम लगाइदिने भनी चार जनाबाट रु ४० लाख लिई ठगी गर्ने कार्यमा संलग्न ललितपुर जावलाखेल बस्ने सुनसरी धरानका ६४ वर्षीय हेमबहादुर घलेलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

अस्ट्रेलिया लैजाने भनी बैंककसम्म पु¥याई १५÷२० दिन होटलमा राखी ठगी गरी भागी फरार भएका घलेलाई महाशाखाले पक्राउ गरी थप अनुसन्धान तथा कारबाही जारी राखेको छ ।

यस्तै भूकम्पको मौका पारी काठमाडौँ सामाखुसीस्थित जनमिलन सहकारी संस्थाबाट नगद रु सात लाख १७० र सुनका विभिन्न गरगहना गरी अन्दाजी ४३ तोला भएको सेफ चोरी घटनामा संलग्न मेकलाल तामाङलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

उक्त चोरीको सामान खरिद बिक्री गर्ने काठमाडौैँ मनमैजु बस्ने नुवाकोट समुन्द्रदेवी गाविसका २७ वर्षीय सूर्यबहादुर तामाङलाई महाशाखाले पक्राउ गरेको छ ।

प्रतिक्रिया