संसद् बैठकमा जे देखियो

इनेप्लिज २०७२ असार २३ गते १४:३० मा प्रकाशित

Rss_Images_1436355169807_Pro_Ktm_ CA Meeting_ President  (2)काठमाडौँ, २३ असार । व्यवस्थापिका–संसद्को आजको बैठक विशेष महत्वको रह्यो । राष्ट्रपति डा रामवरण यादवबाट नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुतिका लागि सजाइएको संसद् सभाकक्षको आकर्षणले धेरैलाई लोभ्याएको देखियो ।

सम्बोधन अघि बैठक कक्षको सजावटबाट मोहित उपप्रधानमन्त्रीदेखि पार्टी अध्यक्षलगायत सभासद्ले आ–आफ्ना आइपोड, आइफोन र मोबाइलबाट सामूहिक तथा व्यक्तिगत तस्बिर छायाङ्कन गर्नुभएको थियो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाल, अमृतकुमार बोहोरा र उपप्रधानमन्त्री बामदेव गौतम, एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता डा बाबुराम भट्टराईले पनि सभामुखको आशन अघिल्तिर सामूहिक तस्बिर खिच्नुभएको थियो ।

सो अवसरमा अन्य सभासद्ले पनि व्यक्तिगत तथा सामूहिकरुपमा तस्बिर खिचाउनुभएको थियो ।

सम्बोधन अघि कुर्सीमा रहनुभएका अन्य सभासद्मध्ये कोही आफ्नै मोबाइलमा व्यस्त देखिन्थे भने कोही गफगाफमा थिए । बैठक कक्षमा राष्ट्रपति डा रामवरण यादवको उपस्थिति भएपछि सभामुख सुवास नेम्वाङले प्रधानमन्त्री सुशील कोइरालालाई आव २०७२/७३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रदान गर्न आग्रह गर्नुभयो ।

मुख्यसचिव लीलामणि पौड्यालले प्रधानमन्त्री कोइरालालाई सो नीति तथा कार्यक्रम हातमा दिँदै कानेखुसी गरेको पनि देखियो । त्यसपछि प्रधानमन्त्री कोइरालाले राष्ट्रपति यादवलाई सो नीति तथा कार्यक्रमको प्रति प्रदान गर्नुभएको थियो ।

दर्शकदीर्घामा उपराष्ट्रपति परमानन्द झा पनि आसीन हुनुहुन्थ्यो । उहाँलाई बस्न दर्शकदीर्घामा विशेष व्यवस्था मिलाइएको थियो ।

अरू बेला अनौपचारिक पोसाकमा आउने सांसद् आज धेरैजसो राष्ट्रिय पोसाक दौरा, सुरुवाल र कोटको पहिरनमा देखिनुभएको थियो । नेपाल सरकारका सचिव तथा अन्य विशिष्ट कर्मचारीपनि राष्ट्रिय पोसाकमै हुनुहुथ्यो ।

बैठकमा राजदूतलगायत कूटनीतिक नियोगका प्रतिनिधिको पनि सहभागिता थियो । नेपालीमा गरिएको राष्ट्रपतिको सम्बोधन नबुझ्नु भएका विदेशी अतिथिहरूलाई सम्बोधनको अङ्ग्रेजी प्रति बाँडिएको थियो ।

प्रतिक्रिया