पाल्पा, २३ असार । जिल्लाभित्रका साना तथा ठूला नदी तथा खोलामा जलचर प्राणी लोप हुने अवस्थामा पुगेका छन् ।
सरोकारवाला निकायको बेवास्ताको कारण दिनहँु करेन्ट लगाएर माछा मार्ने प्रवृत्ति बढेको कारण जलचर प्रणाली नष्ट हुने अवस्थामा पुगेका हुन् । ब्याट्रीको प्रयोग गरी अर्गली गाविसस्थित कालीगण्डकी नदीबाट दिनहुँजसो ठूलो परिमाणमा माछा मार्ने गरेको पाइन्छ ।
अर्गली मात्र नभई युवा मोटरसाइकलको ब्याट्री प्रयोग गरेर सर्देवा खोला, निस्दी खोला, तिनाउ खोलाजस्ता खोलाबाट ठूलो परिमाणमा माछा मार्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।
माडीफाँटस्थित तीनाउखोला केही वर्ष अगाडि विषादीको प्रयोग गरिन्थ्यो । विषादीको प्रयोग गर्नेलाई कारबाही गर्ने घोषणा गरिए पछि गाउँगाउँका युवा करेन्ट लगाएर माछा मार्दछन् । “कसले कारबाही गर्ने ठूलो परिमाणमा ठूलो जमातले माछा मार्दछन् ।” रुप्से गाविसका तेजबहादुर कुमाल बताउनुहुन्छ ।
खोला पानीको बहाव कम भएको मौका छोपेर करेन्ट लगाएर माछा मार्ने प्रवृत्ति बढेका कारण खोलामा माछा हराउँदै गएको छ । केही समय अगाडि बल्छी खेलेर माछा झिकिन्थ्यो, जालको प्रयोग हुन्थ्यो तर यतिखेर भने करेन्टका कारण जालमा माछा पार्न छाडेको गोठादी गाविसका वीरबहादुर चिदी भन्नुहुन्छ ।
नदी तथा खोलामा करेन्ट प्रयोग गरी माछा मार्ने प्रवृत्तिका कारण तीनाउ खोलामा ८÷१० प्रकारका माछा लोप नै हुन पुगे । जहाँजहाँ माछाका लागि उत्तम वासस्थानका रुपमा लिइने रहमा नै करेन्ट लगाएपछि वंश नै नष्ट हुने भयो यसलाई कसले नियन्त्रण गर्ने हो कोलडाँडाका स्थानीय बासिन्दा कपिल चिदी प्रश्न गर्नुहुन्छ ।
अर्गलीस्थित कालीगण्डकी नदीमा करेन्टको प्रयोग गरी दैनिक एक क्विन्टल बराबर माछा झिकिन्छ त्यसरी झिकिएका माछा स्थानीय बजारदेखि तानसेन बजारसम्म पु¥याइन्छ । एउटा माछा १० देखि १५ केजी तौल भएका हुन्छन् । प्रहरी चौकी पनि नजिक छ चौकीमा कार्यरत प्रहरीले समेत यस्ता कार्यलाई रोक्नुको सट्टा केही अंश लिने गरेको स्थानीय बासिन्दा बताउँछन् ।
नेपालको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी ए का कारण नदीमा पानीको मात्रा कम भएको हो, त्यसका फाइदा उठाउँदै करेन्ट प्रयोग बढेको हो । जसका कारण माछा मात्र नभई भ्यागुता सर्पसमेत मर्दछन् । त्यसैले वातावरणीय क्षेत्रमा नराम्रो असर पर्ने स्थानीय बासिन्दा वेनीराम गैरेको भनाइ छ ।
वन ऐन नियमअन्तर्गत खोला तथा नदीका माछालाई समेत वन्यजन्तु वर्गभित्र परिभाषित गरिएका कारण दोभान क्षेत्रका स्थानीय बासिन्दा सेक्टर वन कार्यालय, वन उपभोक्ता, समूह सबैको पहलमा तीनाउ कचल खोलामा करेन्टसमेत प्रयोग गर्न पूर्णरुपले प्रतिबन्ध छ ।
लुकीछिपी करेन्ट प्रयोग गरेको पाइएमा कानुनी कारबाही गरेका कारण यो प्रवृत्ति पूर्णरुपले नियन्त्रण भएको स्थानीय बासिन्दा राजेश श्रेष्ठ बताउनुहुन्छ ।
जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरी भन्नुहुन्छ “करेन्टको समेत प्रयोग गर्न पाइँदैन गैर कानुनी ठहरिन्छ । यस्ता क्रियाकलाप भएका खण्डमा कानुनी उपचार गरिने छ यसका लागि सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुहुन्छ ।”
करेन्ट प्रयोग गरेर सहर उन्मुखभन्दा ग्रामीण क्षेत्रमा बढी मात्रामा यस्ता क्रियाकलाप हुने गर्दछ जहाँ राज्यको पहुँच कम पुगेको छन् । त्यस्ता ठाउँमा २÷४ जनाको समूह मिलेर व्यावसायिकरुपमा नै माछा मार्ने र त्यसलाई सुकाएर रु एक हजार प्रतिकेजीमा बिक्री गर्ने गरिन्छ । यस्ता गलत क्रियाकलाप कसले रोक्ने मित्याल गाविसका पदम खम्चा प्रश्न गर्नुहुन्छ ।
दिनहँुजसो ठूलो परिणाममा करेन्ट प्रयोग गरी माछा मार्ने प्रवृत्ति नरोकिए अबका केही समयमै खोलामा माछा मात्र नभई जलचर प्राणी नै लोप हुने अवस्थामा रहने स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
प्रतिक्रिया