दमौली, २३ असार । सेतीनदीमा बर्सेनि हुने कटानका कारण तनहुँको भिमाद बजारका ५० भन्दा बढी घर खतरामा रहेका छन् ।
सेती नदीले बर्सेनि कटानी गर्दै जाँदा ती घर खतरामा परेका हुन् । बर्खायाम सुरु भएपछि आफूहरुको भोक र निन्द्रा हराउने गरेको त्यहाँका बासिन्दा बताउँछन् ।
बजेट अभावले नदी नियन्त्रण गर्न नसक्दा ती घर खतरामा रहेको सेतीनदी नियन्त्रण तथा बजार व्यवस्थापन समितिका अध्यक्ष श्यामसुन्दर जोशीले बताउनुभयो ।
यस वर्ष सांसद विकास कोषबाट प्राप्त भएको रु एक लाख ४५ हजार र ६० हजार आन्तरिक स्रोतबाट गरी रु दुई लाख पाँच हजारमा २५ वटा तारजाली भर्ने काम भएको जानकारी उहाँले दिनुभयो ।
आवश्यक तटबन्धनका लागि राष्ट्रिय योजना आयोग र जलस्रोत मन्त्रालयमा राष्ट्रियस्तरको योजना माग्ने कामसमेत भइरहेको जोशीले बताउनुभयो ।
अहिलेसम्म पटकपटक गरी रु २५ लाख नदी नियन्त्रणका लागि खर्च भए पनि सोचेअनुसारको काम हुन नसकेको स्थानीय बासिन्दाको गुनासो छ ।
रडसहितको आरसिसी वाल उठाउन रु १५÷२० करोड लाग्ने भएकाले सो रकम केन्द्रीयस्तरबाट माग्ने काम भइरहेको समितिका सचिव राजु परियारले बताउनुभयो ।
प्रतिक्रिया