सुन्तलाबाट सात लाखसम्म आम्दानी

इनेप्लिज २०७२ असार २२ गते १२:०१ मा प्रकाशित

orange-farm-khotang-640x480पाँचथर, २२ असार । गर्दा जे पनि हुन सक्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्, पाँचथर कुरुम्बा गाविस– ४ का नमुना ‘सुप्रिङ कल जल’ उपभोक्ता समितिका महिलाले । विसं २०६३ सालमा उक्त संस्था दर्ता गरी अहिले विभिन्न सरकारी, गैरसरकारी कार्यालय, सङ्घ संस्थाको सहयोगमा अहिले व्यावसायिक सुन्तला खेतीतर्फ लागेका छन् ।

पच्चीस जना आवद्ध संस्थामा सबै महिला मात्रै रहेका छन् । अहिले व्यावसायिक सुन्तला खेतीबाट बार्षिक प्रतिव्यक्ति यी महिलाको घरको आम्दानी रु तीन लाखदेखि रु सात लाखसम्म रहेको छ । संस्थाकी अध्यक्ष इन्दिरा लावतीका अनुसार यस गाविस– ४ कुरुम्बास्थित स्याङदेम्बामा २०३२ सालदेखि नै सुन्तलाखेती गरिन्थ्यो । तर यसरी व्यावसायिक तरिकाले खेती गरिएको थिएन् । उनीहरुले २०६३ सालमा संस्था दर्ता गरी अहिले व्यावसायिक सुन्तलाखेती गरिरहेका छन् । यहाँ उत्पादन भएको सुन्तला घरमै व्यापारी आएर झापाको बिर्तामोड, दमक तथा मोरङको विराटनगरसम्म लैजाने गरेका छन् ।

प्रति किलो रु ४० देखि रु ६० रुपैयाँका दरले सुन्तला बिक्री गर्नुपर्ने बाध्यता छ । यहाँ उत्पादन भएको सुन्तला सदरमुकाम फिदिमसम्म ल्याउन सके राम्रो बजार मूल्य पाइने कृषक बताउँछन् । त्यहाँबाट फिदिमसम्म ल्याउन लामो दुरी र भाडा महँगो हुने हुँदा कृषकलाई झापा र मोरङ पठाउन नै सजिलो छ । यसरी व्यावसायिक सुन्तलाखेती गरेका महिला कृषकको अहिले जीवनस्तर परिवर्तन भएको छ ।

गाउँको मुहार नै फेरिएको छ । जिल्ला कृषि विकास कार्यालयले साना सिँचाइ कार्यक्रमअन्तर्गत आर्थिक सहयोग गरेको छ । पूर्वाञ्चल सिँचाइ सव डिभिजन फिदिम– १ पाँचथरले पनि क्रमागत रुपमा रु २० लाखभन्दा बढी सहयोग गरिसकेको छ । सव डिभिजन फिदिम– १ का कार्यालय प्रमुख मेघनाथ शर्माका अनुसार कृषकले उचित मूल्य पाउन सकेका छैनन् ।

“यसको बजार प्रर्वद्धन गरिनु आवश्यक छ, गाउँमा उत्पादन भएको सुन्तला सदरमुकाम फिदिममा ल्याउन सकियो भने मूल्य राम्रो पाउँछन्” उहाँले भन्नुभयो । अहिले त्यस गाउँका महिला अदुवाखेती, अकबरे खुर्सानीखेती समेत गर्न थालेका छन् ।

प्रतिक्रिया