बुधबार, माघ १२ २०७८
काठमाडौं ०२:३८
वासिङटन डिसी 15:53

सुझावका लागि मस्यौदा जनतामा जाने कार्ययोजना बन्दै, जतिसक्दो चाँडो संविधान जारी गर्ने प्रयास: नेम्वाङ

इनेप्लिज २०७२ असार २२ गते १०:२० मा प्रकाशित

Subash-Nembangकाठमाडौँ, २२ असार । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधानको पहिलो मस्यौदामा जनताको राय/सुझावसहितको प्रतिवेदन लिन यही असार २४ गतेदेखि १५ दिनको समयावधि दिइने बताउनुभएको छ ।

सभाध्यक्ष नेम्वाङले मस्यौदाको सैद्धान्तिक पक्षमाथिको छलफल आजै सकिने र १५ दिनभित्र जनताको सुझावसहितको प्रतिवेदन ल्याउने कार्ययोजना निर्माणको तयारीमा संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति जुटिसकेको जानकारी दिनुभयो ।

निजामती क्षेत्रमा क्रियाशील राष्ट्रियस्तरमा सात ट्रेड युनियनको केन्द्रीय सञ्जालको ज्ञापनपत्र बुझ्दै उहाँले सो समितिले यही २४ गतेको सभाको बैठकमा कार्ययोजना प्रस्तुत गर्ने र त्यसपछि समितिलाई १५ दिनको समय दिइने बताउनुभएको हो । सो समितिको प्रतिवेदन सभामा प्राप्त भएपछि संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति, संविधान मस्यौदा समिति हुँदै सभामा प्रतिवेदन आउनेछ । अन्तिम मस्यौदा आएपछि पारितको प्रक्रियाबाट संविधान बन्नेछ ।

अध्यक्ष नेम्वाङले भन्नुभयो – “जनताको सुझाव प्राप्त भएपछि सकेसम्म चाँडो संविधान बनाउन हामी चाहन्छौँ, त्यसमा निजामती कर्मचारीको पनि सहयोगी भूमिका होस् ।”

उहाँले संविधान बनाउने जनताको २००७ सालदेखिको चाहना र भावनाले मूर्त रुप पाउने सङ्घारमा मुलुक उभिएको बताउँदै प्रमुख दलबीच संविधानमा मूलभूत सवालमा सहमति भएको सन्दर्भमा पहिलो मस्यौदा आएकाले यस पटक संविधानसभा असफल नहुने बताउनुभयो ।

उहाँले असन्तुष्ट रहेका र आजको बैठक बहिष्कार गर्ने दलले पनि मस्यौदा निर्माणको प्रक्रियामा भाग लिएको र फरक मत दर्ता गरेकाले संविधान निर्माणको दिशामा सिङ्गो मुलुक अघि बढेको उल्लेख गर्नुभयो ।

सञ्जालले नयाँ संविधानको मौलिक हकमा श्रम तथा ट्रेड युनियन हकको व्यवस्था गरी प्रत्येक श्रमिक र कर्मचारीलाई टे«ड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हकलाई सुनिश्चित गर्न माग गरेको नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष पुण्यप्रसाद ढकालले बताउनुभयो ।

प्रतिक्रिया