चन्द्रनिगाहपुर अस्पतालमा एक्स–रे सेवा सुरु

इनेप्लिज २०७२ असार २२ गते ३:५१ मा प्रकाशित

x-ray-machine-imagingरौतहट, २२ असार । चन्द्रनिगाहपुर अस्पतालमा केही वर्षदेखि बन्द रहेको एक्स–रे सेवा सोमबारबाट पुनः सञ्चालनमा आएको छ । विगत दुई वर्षदेखि नयाँ मेसिन नहुँदा सर्वसाधारण एक्स–रे सुविधाबाट वञ्चित हुँदै आएका थिए ।

दैनिक २० देखि ३० जनासम्म हाडजोर्नीसम्बन्धी समस्या लिएर अस्पतालमा आउने गरेको भए पनि मेसिन नहुँदा बिरामीले अन्य स्थानमा जानुपर्ने बाध्यता थियो ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा तथा चन्द्रनिगाहपुर अस्पताल विकास कोषको समेत गरी करिब १० लाखको लागतमा एक्स–रे खरिद गरी सेवा सञ्चालन गरिएको हो । यसअघि उक्त अस्पतालमा आकस्मिक तथा प्रसूति सेवा सञ्चालन हुँदै आएको छ । सामान्य समस्याबाहेक अन्य बिरामीलाई उपचारका लागि बाहिर सिफारिस गर्नुपर्ने समस्याको अन्त्य भएको अस्पतालका निमित्त प्रमुख अभय ठाकुरले बताउनुभयो ।

पन्ध्र शय्याको अस्पतालमा हाल दुईजना मात्र चिकित्सकले काम गर्नुपर्ने बाध्यता रहेको छ । अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक तथा भौतिक पूर्वाधारको नहुँदा लक्ष्यअनुसारको सेवा प्रदान गर्न कठिनाइ भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया