राम्चे र दाना गाविस बने पूर्ण सरसफाइयुक्त

इनेप्लिज २०७२ असार २२ गते ३:४० मा प्रकाशित

Myagdi_district_locationम्याग्दी, २२ असार । म्याग्दीको दाना र राम्चेलाई पूर्ण सरसफाइयुक्त गाविस घोषणा गरिएको छ । गाविसभरका बासिन्दाले शौचालयको अनिवार्य प्रयोग, शतप्रतिशत शुद्ध खानेपानीको सुविधा, व्यक्तिगत, वातावरणीय र घरायसी सरसफाइसम्बन्धी सूचक पूरा गरेपछि पूर्ण सरसफाइयुक्त गाविस घोषणा गरिएको हो ।

जिल्लालाई खुला दिसामुक्त घोषणा गरिसकेपछि सुरु भएको पूर्ण सरसफाइ अभियानअन्तर्गत अहिलेसम्म दाना र राम्चेले पूर्ण सरसफाइका सूचक पूरा गरी पूर्ण सरसफाइयुक्त गाविस बनेको जिल्ला विकास समितिको कार्यालयले जनाएको छ । दुवै गाविसका सबै घरमा पक्की शौचालयको निर्माण, खानेपानी सुविधाको शतप्रतिशत पहुँचका साथै सुरक्षित स्थानमा फोहोर विर्सजन गर्ने, जोखिमपूर्ण अवस्थामा साबुनपानीले हात धुनेलगायत व्यवहार अपनाउन थालेको जिविसअन्तर्गत पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाका सल्लाहकार भीम मोक्तानले जानकारी दिनुभयो ।

उहाँका अनुसार बेगखोला, भुरुङतातोपानी, दग्नामलगायत गाविसलाई समेत पूर्ण सरसफाइयुक्त गाविस घोषणाको तयारी भइरहेको छ । यो अभियानले सरसफाइ र मानवीय व्यवहार परिवर्तनसँगै स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने स्थानीयवासीको विश्वास छ । खुला दिसामुक्त घोषणा अभियानपछि सञ्चालन भएको पूर्ण सरसफाइ अभियानले व्यक्तिगत, घरायसी र वातावरणीय सरसफाइमा जनचेतना अभिवृद्धि गर्न थप जागरण ल्याएको राम्चेको नागी आमा समूहका अध्यक्ष देवकुमारी खोरजाले जानकारी दिनुभयो ।

प्रतिक्रिया