बाढीबाट खेतीबाली नोक्सान भएका किसानलाई राहत वितरण

इनेप्लिज २०७२ असार २२ गते ३:३५ मा प्रकाशित

गुलरिया (बर्दिया), २२ असार । जिल्ला कृषि विकास कार्यालयले गत साउनमा आएको बाढीबाट खेतीबाली नोक्सान भएका २५ हजार ५०० किसानलाई राहत वितरण गरेको छ ।

कृषि विकास मन्त्रालयअन्तर्गत कृषि विभागबाट विनियोजित करिब रु ६ करोड पाँच लाखबाट किसानको मागअनुसारका राहत सामग्री वितरण भइरहेको कृषि कार्यालय बर्दियाका वरिष्ठ कृषि विकास अधिकृत हिक्मतकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

राहत कार्यक्रमअन्तर्गत माछापोखरी मर्मत, धानको बीउ, सिडविन, स्पे्रयर, सिँचाइ कुलो र डुड मर्मत, बोरिङ तथा पम्पसेट, मोटर, हाटबजार टहरो मर्मत, आपत्कालीन बीउ संरक्षण मचान र ७०० घरधुरीलाई तरकारी बीउ वितरण कार्य भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यक्रमबाट धानको बीउमा रु एक करोड ५९ लाख, माछापोखरी मर्मत सुधारमा रु १८ लाख, कुलो डुड ममर्त सुधारमा रु ७८ लाख ४० हजार, बोरिङ, पम्पसेट तथा मोटर जडानमा रु दुई करोड पाँच लाख, आपत्कालीन बीउ संरक्षण मचानमा रु २० लाख, प्याज भण्डारण तथा हाटबजार टहरोमा रु १० लाख, सिडविन वितरणमा रु ८० लाख, स्प्रेयरमा रु पाँच लाख ४६ हजार र तरकारी बीउ सहयोगमा रु सात लाख खर्च भएको वरिष्ठ कृषि विकास अधिकृत श्रेष्ठले बताउनुभयो ।

बर्दियामा गत साउनमा आएको बाढीबाट ६ हजार ५०० हेक्टरमा लगाएको धानबालीमा क्षति पु¥याएको थियो । यसअघि कृषि कार्यालयको नियमित कार्यक्रमबाट रु २९ लाख र कृषि विकास मन्त्रालयबाट दीर्घकालीन कृषि योजना अनुगमन तथा समन्वय राहत कार्यक्रमबाट रु २० लाख गरी रु ४९ लाख हिउँदेबालीका लागि वितरण भइसकेको कार्यालयले जनाएको छ ।

हाल सहयोग गरिएको सिँचाइ कार्यक्रमबाट करिब एक हजार ५०० हेक्टरमा सिँचाइको संरचना सुधार भई बाली सघनता बढ्ने कार्यालयको दाबी छ । त्यस्तै सीमान्तकृत तथा साना किसानलाई वितरण गरेको सिडविनबाट ६ हजार क्विन्टलभन्दा बढी बीउ सञ्चय गरेर राख्न सकिने कृषि कार्यालयले जनाएको छ ।

कार्यक्रम सञ्चालनका लागि कार्यालयले दुई ओभरसियर र दुई प्राविधिक करारमा नियुक्त गरेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले विभिन्न निकाय सम्मिलित क्षेत्रगत रुपमा टोली बनाई अनुगमन निरीक्षण गरी प्रतिवेदन असार २५ गतेभित्र समितिमा पेस गर्ने कार्यक्रम रहेको बताएको छ ।

प्रतिक्रिया