भान्जाद्वारा मामाको हत्या, नौ घन्टामै अभियुक्त पक्राउ

इनेप्लिज २०७२ असार २१ गते १०:२१ मा प्रकाशित

hatya-imageपरासी, २१ असार । नवलपरासीको देवचुली नगरपालिका–४ परानपुरमा आज बिहान भान्जाले आफ्नै मामाको हत्या गरेका छन् ।

कुखुराको विषयमा विवाद हुँदा ३५ वर्षका भान्जा गुनबहादुर आलेले करिब ६० वर्षका मामा तेजबहादुर पुलामीलाई कैँचीले प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।

घाइते पुलामीको उचारका क्रममा दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक पर्शुराम तिवारीले जानकारी दिनुभएको छ ।

यस्तै घटनामा परी मृतकका ३२ वर्षका छोरा मनबहादुर पुलामी घाइते भएको र भरतपुरमा उपचार भइरहेको छ । घटनापछि तत्कालै प्रहरी घटनास्थलमा पुगी भान्जा आलेलाई नियन्त्रण लिएको र घटनाका बारेमा अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक तिवारीले बताउनुभयो ।

हत्या भएको नौ घन्टाभित्र अभियुक्त पक्राउ

नवलपरासीमा आमासँग अनैतिक सम्बन्ध राखेको आरोपमा एकजनालाई हत्या गर्ने अभियुक्तलाई प्रहरीले हत्या भएको नौ घन्टाभित्र पक्राउ गर्न सफल भएको छ ।

आमासँग अनैतिक सम्बन्ध राख्ने शिवपुजन थारुलाई कोदालोको प्रयोग गरी हत्या गर्ने हेमराज थारुलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

नवलपरासीको सुनवल–९ बस्ने ५८ वर्षीय शिवपुज थारुले अभियुक्त हेमराज थारुको आमासँग पटकपटक अनैतिक सम्बन्ध राखेका कारण हत्या गरेको अभियुक्तले स्वीकारेको प्रहरीले जानकारी दिएको छ ।

सुनवल इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश दाहाल र प्रहरी निरीक्षक शम्भुप्रसाद सिटौलाको नेतृत्वमा खटिएको प्रहरी टोलीले सूचनाको आधारमा अभियुक्त थारुलाई घटना घटेको नौ घन्टाभित्रै विभिन्न प्रमाणसहित पक्राउ गरेको प्रहरी उपरीक्षक नवलप्रसाद उपाध्यायले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा सो घटनामा प्रभावकारी भूमिका निर्वाह गर्ने प्रहरी जवान वीरेन्द्र निसादलाई नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया