वन्यजन्तु चोरी सिकारी रोक्न अभियान

इनेप्लिज २०७२ असार २१ गते १०:२० मा प्रकाशित

rhinonepalwwfमुस्ताङ, २१ असार । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङले आफ्नो कार्य क्षेत्रभित्र वन्यजन्तुको चोरी सिकारी नियन्त्रण अभियान सञ्चालन गरेको छ ।

सडकको पहुँच पुगेसँगै उपल्लो मुस्ताङका छ गाविसमा बाहिरी जिल्लाबाट सिकारका लागि जाने र अवैध सिकार गर्ने पाइएकाले त्यस्तो अभियान सञ्चालन गरिएको हो ।

अभियानअन्तर्गत पहिलो चरणमा छवटै गाविसका संरक्षण व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय समाजसेवी, प्रहरी, सीमा प्रशासन कार्यालय र भन्सार कार्यालयका प्रतिनिधिबीच अन्तरक्रिया कार्यक्रम गरिएको एक्याप लोमान्थाङका प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो । यी गाविसबाट वन्यजन्तुका अतिरिक्त शालिग्रामलगायतका चीजको समेत अवैधरुपमा चोरी निकासी हुने गरेको छ ।

बाघ, भालुलगायतका वन्यजन्तुको समेत विभिन्न समयमा अवैध चोरी सिकारी हुने गरेको स्थानीय जनताले बताएका छन् । “यी क्षेत्रमा स्थानीय जनता खासै चोरी सिकारी गर्दैनन्, तर बाहिरबाट हुने कुरालाई रोक्नुपर्छ,” प्रमुख शेरचनले भन्नुभयो । सीमा प्रशासन कार्यालयका प्रमुख कृष्णराज ढकालले अवैधरुपमा हुने चोरी सिकारीलाई रोक्न स्थानीय बासिन्दाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया