शुक्रबार, माघ १४ २०७८
काठमाडौं २२:४८
वासिङटन डिसी 12:03

संविधान नामको कागज च्यात्दैमा संविधान निर्माणमा कुनै असर गर्दैन: ओली

इनेप्लिज २०७२ असार २१ गते १०:१८ मा प्रकाशित

kp-oli2दमक, २१ असार । नेकपा (एमाले) अध्यक्ष केपी ओलीले एक/दुईजनाले संविधान नाम लेखेको कागज च्यात्दैमा संविधान निर्माणमा कुनै असर नगर्ने बताउनुभएको छ ।

प्रेस चौतारी झापाको आयोजनामा दमक–१० स्थित ओली निवासमा आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधानको प्रस्तावित मस्यौदाप्रति असहमति राखेर केही समूहले जलाउँदै हिँड्नुमा कुनै तुक नभएको बताउनुभयो ।

उहाँले यो ऐतिहासिक अवसर भएकाले केहीले विरोध गर्दैमा बाधा नपुग्ने र संविधान जारी भएर छाड्ने विश्वास व्यक्त गर्नुभयो । केही नपुगेका विषय भए पछि संशोधन गर्न सकिने भन्नुहुँदै अध्यक्ष ओलीले अव संविधान साउनको दोस्रो सातासम्ममा आएरै छाड्ने दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले संविधान निर्माणपछि मुलुक समृद्ध र लोकतन्त्रको संस्थागत विकासतर्फ अगाडि बढ्ने दाबी गर्नुभएको थियो ।

झापा क्षेत्र नं ७ का सभासद्समेत रहनुभएका एमाले अध्यक्ष ओली आफ्नो क्षेत्रमा भइरहेका विकास निर्माणका योजनाको अनुगमनका लागि झापा आउनुभएको हो ।

अध्यक्ष ओलीले आइतबार दमक–५ स्थित दुम्सेमा प्रस्तावित संसारकै अग्लो बुद्धको मूर्ति निर्माणस्थलको अवलोकनसहित त्यस क्षेत्रका बासिन्दासँग अन्तक्र्रियासमेत गर्नुभएको थियो ।

प्रतिक्रिया