शुक्रबार, माघ १४ २०७८
काठमाडौं १३:४०
वासिङटन डिसी 02:55

माघ १५ पछि स्थानीय निकायको निर्वाचन उपयुक्तः डा. यादव

इनेप्लिज २०७२ असार २१ गते १०:१५ मा प्रकाशित

ayodhiलक्ष्मी काफ्ले

बिर्तामोड, २१ असार । निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले माघ १५ पछि स्थानीय निकायको निर्वाचन गर्दा उपयुक्त हुने बताउनुभएको छ । बिर्तामोडमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यादवले स्थानीय निकायको निर्वाचनका लागि निर्वाचन आयोग प्राविधिक रुपले सक्षम रहेको दावी गर्नुभयो ।

दलबीच भएको १६ बुँदे सम्झौताको अन्तिम बुँदामा स्थानीय निकायको निर्वाचन चाँडै गर्ने कुरा उल्लेख भएकाले आयोग प्राविधिक तयारीमा लागेको उहाँले प्रष्ट पार्नुभयो । ‘अहिले ८ देखि ९ लाख मतदाता थपिएका छन्,’ यादवले भन्नुभयो– ‘अबको निर्वाचनमा कूल १ करोड ३० लाख मतदाता मतदानमा सहभागि हुनेछन् ।’ २०७० को निर्वाचनमा कूल मतदाताको संख्या १ करोड २१ लाख ४७ हजार ८ सय ६५ रहेको यादवले जानकारी दिनुभयो ।

स्थानीय निकायको निर्वाचनमा ठूलो जनशक्ति चाहिने यादवको भनाई छ । ‘१० प्रतिशत मतदाता नाम दर्ता गराउन अझै छुटेका छन्,’ यादवले भन्नुभयो– ‘नाम दर्ता गराउने काम आफ्नो ईच्छाको कुरा भएर पनि यस्तो भएको हो ।’
विदेशमा बस्ने नेपालीको नाम मतदाता नामावलीमा दर्ता गराउनका लागि वजेट विनियोजन गर्न आफूले अनुरोध गरेको उहाँले बताउनुभयो । खाडी मुलुकमा धेरै नेपाली रहेकाले कुन मुलुकबाट काम सुरु गर्ने भन्ने कुराको समस्या रहेको उहाँको भनाई छ । ‘विदेशमा हुने नेपालीसँग नागरिकता हुँदैन, पासपोर्ट हुन्छ,’ उहाँले भन्नुभयो– ‘त्यो पनि कम्पनीसँग हुने भएकाले यो अत्यन्त गाह्रो काम हो, तरपनि हामी प्रयासरत छौं ।’

निर्वाचनको मिति कसले घोषणा गर्ने भन्ने कुराको छलफल गर्न आवश्यक रहेको यादवले धारणा राख्नुभयो । भौगोलिक क्षेत्रलाई मध्यनजर गरी विभिन्न चरणमा निर्वाचन गराउन सकिने उहाँको भनाई छ । ‘स्थानीय निकायको निर्वाचनको लागि निर्वाचन आचारसंहिता पनि निर्माण भइसकेको छ,’ उहाँले भन्नुभयो– ‘तर कार्यविधि ऐन आउन बाँकी छ, हामी ऐनको पक्षमा छौं ।’ आयोगले निर्वाचनको तयारी गरेर मात्र नहुने यादवले बताउनुभयो । निर्वाचन गराउनका लागि कानुन आउनुपर्ने उहाँको भनाई छ ।

प्रतिक्रिया