एसएलसी उत्तीर्ण हजुरआमाको शिक्षिका बन्ने धोको

इनेप्लिज २०७२ असार २० गते १०:०९ मा प्रकाशित

भक्तपुर, २० असार । उहाँ हजुरआमा नै भइसक्नुभएको छ । तीन छोराकी आमा र एक नातिनीकी हजुरआमा ४० वर्षीया सुभद्रा खड्का यत्तिखेर बेपत्ता खुसी हुनुहुन्छ । कारण हो यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षामा सफलता ।

मध्यपुरथिमि नगरपालिका–१५ गठ्ठाघरस्थित आस्था महिला विद्यालयबाट २०७१ सालको चैतमा एसएलसी परीक्षा दिनुभएका उहाँले दोस्रो श्रेणीमा उत्तीर्ण हुनुभयो । अब शिक्षिका बन्ने उद्देश्यले शिक्षा सङ्कायमा भर्ना हुने निचोडमा उहाँ पुग्नुभएको छ । विद्यालयको बिदाइ कार्यक्रममा आउनुभएकी उहाँ भन्नुहुन्छ, “मेरो शिक्षिका बन्ने उद्देश्य छ, अब क्याम्पस भर्ना हुने सुरमा छु ।”

काभ्रे नमोबुद्ध घर भई हाल गठ्ठाघर बस्दै आउनुभएकी खड्काले माइती सिन्धुली मजुवामा कक्षा ६ मा छुटेको पढाइलाई छ वर्षअघि आस्था विद्यालयबाटै निरन्तरता दिनुभएको हो । “जीवनमा यो अवसर आउला भन्ने सोचेकै थिएन, एसएलसी उत्तीर्ण गर्ने सपना पूरा गर्ने अवसर आस्था विद्यालयले जुराइदियो ।”

यस्तै मध्यपुरथिमि चपाचोकी १० र ४ वर्षका सन्तानकी आमा अनिता प्रजापति एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण हुनुभएपछि अब शिक्षा सङ्काय नै पढ्दै मन्टेश्वरी स्कुल खोल्ने योजनामा लागिसक्नुभएको छ । माइतीमै छँदा कक्षा ७ उत्तीर्ण गरेपछि १६ वर्षदेखि छुटेको पढाइलाई तीन वर्षअघि आस्था विद्यालयबाटै निरन्तरता दिएर उहाँ यस वर्षको एसएलसी उत्तीर्ण गर्न सफल हुनुभएको हो । मन्टेश्वरी विद्यालय सञ्चालन गरेर शिक्षिका बन्ने धोको अब पूरा हुने भएपछि उहाँको परिवारमा खुसियाली छाएको छ ।

एसएलसी उत्तीर्ण नगरेकालाई विभिन्न निकायमा होच्याउने गरेको पाएपछि घर व्यवहारसँगै छोरीको स्याहारसुसारमा लाग्नुभएका तारा श्रेष्ठ पनि यस वर्षको एसएलसी परीक्षा दोस्रो श्रेणीमा उत्तीर्ण हुनुभयो । उहाँ अब के पढ्ने भनेर परामर्श लिन र क्याम्पस खोज्न थाल्नुभएको छ । दोलखा खारे घर भई हाल लोकन्थली बस्दै आउनुभएकी श्रेष्ठले १२ वर्षअघि कक्षा ५ मा छुटेको पढाइलाई निरन्तरता दिएपछि उच्च शिक्षा अध्ययन गर्ने ढोका खुलेको हो ।

द्वन्द्वकालमा पढाइ छुटेका ताप्लेजुङ याक्तेलकी आठ वर्षको छोराकी आमा सञ्जुमाया लिम्बूको पनि यस वर्षको एसएलसीमा दोस्रो श्रेणीमा उत्तीर्ण भएपछि मनको धोको पूरा भएको छ । भावी योजनाबारे सुनाउँदै उहाँले भन्नुभयो – “द्वन्द्वका कारण गाउँमा बस्नै सकिएन, भागेर सुनसरी गएर बसियो, पछि बिहे गरेर भक्तपुर आएपछि छुटेको पढाइ १० वर्षपछि पूरा गरे, अब क्याम्पस पढेर सरकारी जागिर खाने योजना छ ।”

यसबाहेक, यस वर्ष आस्था महिला विद्यालयबाट आमाहरु सुनिता तिमिल्सिना, सरिता वाइबा र शान्ता राई दोस्रो श्रेणीमा उत्तीर्ण हुनुभएको छ । अरुको घरमा काम गरेर पनि अञ्जली कार्की, आरती थापा मगर र अञ्जना कार्की प्रथम श्रेणीमा उत्तीर्ण हुन सफल हुनुभएको छ । उक्त विद्यालयकी प्रधानाध्यापक पार्वती ज्ञवालीले यस वर्ष १६ जना आमा, हजुरआमाले एसएलसी परीक्षा दिएकामा नौ जनाले उत्तीर्ण गरेको जानकारी दिनुभयो । यसअघि यस विद्यालयबाट २०६९ सालमा छजना र २०७० सालमा पाँचजना उत्तीर्ण भएका थिए ।

विद्यालयका सहायक प्रधानाध्यापक बिना देउजाले पढाइ छुटेका आमा, हजुरआमाहरुले यस विद्यालयमा पढ्न आउने क्रम बढेको बताउनुभयो । सरकारी सहयोग नपाए पनि सहयोगको भावनाले सञ्चालित यस विद्यालयले अध्ययनसँगै यहाँका महिलालाई विभिन्न सीपमूलक तालिमसमेत दिएर आत्मनिर्भर बनाउने काम गर्दै आएको छ ।

प्रतिक्रिया