शुक्रबार, माघ १४ २०७८
काठमाडौं २१:४०
वासिङटन डिसी 10:55

संविधान निर्माणमा आउन मधेसवादी दललाई मन्त्री आचार्यको आग्रह

इनेप्लिज २०७२ असार १९ गते १२:३० मा प्रकाशित

Rss_Images_1436007158111_NC-Acharya-2काठमाडौँ, १९ असार । संविधान निर्माणमा आउन मधेसकेन्द्रित दललाई कानुन तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले आग्रह गर्नुभएको छ ।

धापासी जागरण समाजले आज टोखामा आयोजना गरेको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा मन्त्री आचार्यले भन्नुभयो, “वार्ता र सहमतिबाटै संविधान निर्माण हुने हो त्यसकारण तपाईंहरु वार्तामा आउनुहोस् ।”

उहाँले पूर्खाले जन्म दिएका कारणले अहिले यस अवस्थासम्म आइपुगेको भन्दै आफूभन्दा अग्रजलाई सम्मान गर्नुपर्ने बताउनुभयो । मन्त्री आचार्यले २०४६ सालको निर्वाचनमा नेपाली काँग्रेसले घोषणापत्रमा ज्येष्ठ नागरिकको अधिकारको आवाज उठाएको र मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा यो अधिकारलाई निरन्तरता दिएको बताउनुभयो ।

उहाँले अब बन्ने संविधानको प्रारम्भिक मस्यौदामा ज्येष्ठ नागरिकको हक अधिकारसम्बन्धी छुट्टै व्यवस्था भएको भन्दै यसलाई चित्त नबुझे अझै परिमार्जित गर्न सकिने बताउनुभयो ।

टोखा नगरपालिकाका कार्यकारी अधिकृत ऋषिराम अर्यालले सबै क्षेत्रको हक अधिकारलाई सुनिश्चित गराउने खालको संविधान निर्माण गर्नुपर्ने बताउनुभयो ।

धापासी जागरण समाजका अध्यक्ष महेश्वर शर्मा पौडेलले ‘मातृदेवो भव, पितृदेवो भव’ भन्ने शब्दलाई सम्मान गर्नुपर्ने भन्दै भन्नुभयो, “बुढेसकालमा आफ्ना अभिभावकको सम्मान गरेमात्र सच्चा सम्मान हुनेछ ।”

कार्यक्रममा जुस, हर्लिक्स, दोसल्ला, रुद्राक्षको माला, प्रमाणपत्र र नगद रु ५०० दिएर वृद्धवद्धालाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेमा टोखा नगरपालिका भित्रका एक देखि ६ नं वडासम्मका १२७ जना ८० वर्ष नाघेका वृद्धवृद्धा रहेका छन् ।

प्रतिक्रिया