लोकतान्त्रिक योद्धा गुरुङको सम्मान

इनेप्लिज २०७२ असार १९ गते १२:२६ मा प्रकाशित

Rss_Images_1436006524267_AR-ktm-ganeshmanकाठमाडौँ, १९ असार । प्रजातान्त्रिक विचार समाज केन्द्रीय समितिले आफ्नो १७ औँ साधारणसभाको अवसर पारी नेपालको लोकतान्त्रिक आन्दोलनमा निरन्तर क्रियाशील योद्धा कुलबहादुर गुरुङलाई आज यहाँ सम्मान गरेको छ ।

नेपालमा लोकतान्त्रिक शासन पद्धति स्थापनाका लागि अनवरत सङ्घर्षरत नेपाली काँग्रेसका पूर्व महामन्त्रीसमेत रहनुभएका गुरुङलाई देशमा दिगो शान्ति, लोकतन्त्र, जातीय सद्भाव र एकताका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको भन्दै सम्मान गरिएको हो ।

उहाँलाई समाजका अध्यक्ष डा केदारनरसिंह केसीले दोसल्ला ओढाएर सम्मानपत्र र रु २५ हजार नगदसहित सम्मान गर्नुभएको हो ।

उक्त अवसरमा सर्वोच्च नेता गणेशमान सिंहको जन्म शताब्दीका अवसरमा समाजद्वारा प्रकाशित विशेष अङ्क चिन्तन पनि लोकार्पण गरिएको थियो ।

कार्यक्रममा उपप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले समाजले लोकतान्त्रिक योद्धाका रुपमा गुरुङलाई गरेको सम्मान उहाँले देशको प्रजातान्त्रिक आन्दोलनका लागि गरेको योगदानको सम्मान भएको धारणा राख्नु भयो ।

उहाँले गणेशमान सिंहको शतवार्षिकी विशेष अङ्कका रुपमा लोकार्पण गरिएको चिन्तन सिंहले नेपालको स्वतन्त्रता र लोकतन्त्रका लागि गरेको योगदान जान्न चाहने जो कोहीका लागि पनि महत्वपूर्ण हुने बताउनुभयो ।

देश संविधान निर्माणको महत्वपूर्ण चरणमा बढिरहेको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले संविधानसभामा प्रस्तुत भएको प्रारम्भिक मस्यौदा भिन्न भिन्न विचारका दलहरुबीच सहमतिबाट ल्याइएका कारण त्यसभित्र सकारात्मक नकारात्मक दुवै पक्ष रहेको उल्लेख गर्नु भयो ।

उहाँले मस्यौदा संविधानसभामा बहसका अवस्थामा रहेका कारण यसका नकारात्मक पक्षलाई छलफलका माध्यमबाट सच्याउन सकिने बताउनुभयो ।

सम्मानित व्यक्तित्व गुरुङले देशमा प्रजातन्त्रको स्थापना र विकासमा धेरै व्यक्तित्वहरुले योगदान पु¥याएका कारण उनीहरुप्रति उच्च सम्मान गर्न सक्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले प्रजातन्त्र आफँैमा एउटा पद्धति भएको चर्चा गर्दै प्रजातन्त्रको विकासका लागि त्यहीअनुरुपको प्रजातान्त्रिक व्यवहार आवश्यक हुने बताउनुभयो ।

नेपाली काँग्रेसमा नीतिभन्दा पनि व्यक्तिवादी प्रवृत्ति बढेको बताउँदै उहाँले यस्तो प्रवृतिले लोकतन्त्र फस्टाउन नसक्ने धारणा राख्नु भयो ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले प्रजातान्त्रिक मूल्य मान्यता, यसका आदर्शलाई आत्मसात् गर्दै शान्तिपूर्ण समृद्ध समाज, सामाजिक सद्भाव र एकताका पक्षमा निरन्तर क्रियाशील व्यक्तित्वका रुपमा गुरुङको सम्मान गरिएको बताउनुभयो । समाजले प्रकाशन गरेको गणेशमान सिंह जन्मशताब्दी विशेष अङ्कमा सिंहका जीवनीका विभिन्न पक्षहरु समेटिएको उहाँले जानकारी गराउनुभयो ।

समाजका उपाध्यक्ष कुलचन्द्र वाग्लेले प्रजातन्त्रको संरक्षण तथा यसको संस्थागत विकासका लागि बुद्धिजीवीहरुको महत्वपूर्ण भूमिका हुने कुरालाई दृष्टिगत गरी २०५२ सालमा स्थापित प्रजातान्त्रिक विचार समाज विभिन्न यात्रा पार गर्दै वर्तमानमा आइपुगेको चर्चा गर्नु भयो ।

कार्यक्रममा पूर्व मन्त्री सुरेश मल्ल, समाजका पूर्व अध्यक्षद्वय होमनाथ दाहाल र वसन्तकुमार गौतम, वरिष्ठ पत्रकार हरिहर विरही, नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सभापति वासु घिमिरे, समाजका सदस्य गोकर्ण अर्याललगायतले लोकतन्त्र, लोकतान्त्रिक शासन पद्धतिका आधारभूत मूल्य मान्यतामा आधारित भई नयाँ संविधान जारी हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया