पुल नहुँदा डुङ्गाको प्रयोग गर्नुपर्ने बाध्यता

इनेप्लिज २०७२ असार १९ गते ३:४७ मा प्रकाशित

ilam_nepal_mapइलाम, १९ असार । इलामको दक्षिणी दानाबारी र महमाईका स्थानीयवासी पुल नहुँदा डुङ्गाको प्रयोगद्वारा खोला तर्न बाध्य छन् ।

महमाई र दानाबारी बीचमा पर्ने माईखोलाको चण्डालघाटमा पुल नहुँदा बर्खायाममा ती क्षेत्रका बासिन्दा आवतजावत गर्न डुङ्गाको प्रयोग गर्न बाध्य भएका हुन् । यो वर्ष छिटो पानी परेर बाढी आएपछि स्थानीयवासीले थप कष्ट झेल्नु परेको छ ।

झापाको विर्तामोडबाट दानाबारी हँुदै महमाई, बाँझो, इभाङलगायत गाविस जाने यात्रुलाई बढी समस्या छ । हिउँदयाममा बाँसको अस्थायी फड्के लगाएर पैदल यात्रु र मोटरबाइकसम्म तार्ने गरिए पनि अहिले खोलामा पानी बढेकाले डुङ्गाको सहारा लिनु परेको हो । यहाँका स्थानीयवासी जोखिम मोलेर फड्के तर्नुभन्दा डुङ्गामा भाडा तिरेर खोला तर्न थालेका छन् । उनीहरुले एकपटक डुङ्गाको प्रयोग गरेबापत सय रुपैयाँ तिर्नुपर्ने बताएका छन् ।

बर्खायाममा बर्सेनि समस्या खेप्नु यहाँका बासिन्दाको नियति नै बनेको छ । पक्की पुल नबनेसम्म सधैँ समस्या झेल्नुपर्ने बाध्यता रहेको स्थानीयवासी वीरबहादुर लिम्बूले बताउनुभयो । त्यस क्षेत्रका स्थानीयवासीलाई यतिबेला डुङ्गा तर्दा मरिन्छ कि बाँचिन्छ, ज्यानको बाजी थापेर खोला तर्न बाध्य छन् । पुन नहुँदा दैनिक उपभोग्य सामग्री ल्याउन लैजानसमेत स्थानीयवासीले ठूलो कष्ट झेल्नुपर्ने अवस्था छ । तर अहिले माईखोलामा पक्की पुल निर्माणको कार्य भने भइरहेको जिविसले जनाएको छ ।

फलफूल र नगदेबाली उत्पादनमा अग्रणी महमाई क्षेत्रका बासिन्दालाई पुल नहँुदा आफ्नो उत्पादन बिक्री गर्न पनि समस्या भएको छ । यस क्षेत्रका बासिन्दालाई बिरामी हँुदा सबैभन्दा धेरै कष्ट हुने गरेको छ ।

झापाको सताशीधामबाट गैँडे हँुदै चुरे क्षेत्रबाट सडक निर्माण गरिए पनि संवेदनशील भू–बनोटका कारण यो सडकमा सवारीसाधन चल्न सकेका छैनन् । सवारीसाधन नचलेपछि दैनिक उपभोग्य सामग्री खरिद र आफूले उत्पादन गरेका सामग्री बजारसम्म पु¥याउनसमेत समस्या भएको स्थानीयवासीको भनाइ छ ।

प्रतिक्रिया