लोकदीप आवासीय माविको वातावरण संरक्षण अभियान: विद्यार्थीद्वारा वृक्षरोपण

इनेप्लिज २०७२ असार १९ गते ३:४४ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), १९ असार । म्याग्दीको सदरमुकाम बेनीबजारको मङ्गलाघाटमा अवस्थित लोकदीप आवासीय माविका विद्यार्थीले वातावरण संरक्षण अभियान सुरु गरेका छन् ।

शुक्रबार बराहपाखो सामुदायिक वनमा उत्तिस, सल्लो, रायखन्यु, चाँप, कटुस, धुपीलगायत करिब ३०० बिरुवा रोपेर विद्यार्थीले वातावरण संरक्षण अभियान सुरु गरेको विद्यालयका प्रधानाध्यापक अर्जुन पौडेलले बताउनुभयो ।

कक्षा ६ देखि १० सम्मका २०० विद्यार्थीले विभिन्न जातका बिरुवा रोपण गरेका थिए । कार्यक्रममा बराहापाखो सामुदायिक वनका प्रतिनिधि, विद्यालय सञ्चालक समितिका अध्यक्ष नैनकुमार श्रेष्ठ, शिक्षक, अभिभावकलगायतको सहभागिता थियो ।

अभियानअन्तर्गत साउनभरि विद्यालय सेवा क्षेत्रभित्रका विभिन्न सामुदायिक वन, पाखो जग्गा र म्याग्दी नदीको तटीय क्षेत्रमा वृक्षरोपण गर्ने कार्यक्रम रहेको छ । भू–क्षय र पहिरोका कारण वनजङ्गलको विनाश हुनुका साथै मानव बस्तीसमेत खतरामा पर्ने भएकाले समुदायका अभिभावकलाई पनि वृक्षरोपणतर्फ लाग्न उत्प्रेरित गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको प्रधानाध्यापक पौडेलले बताउनुभयो ।

प्रतिक्रिया