भोकभोकै बाढीपीडित

इनेप्लिज २०७२ असार १९ गते ३:४१ मा प्रकाशित

Morang_district_locationपथरी (मोरङ), १९ असार । मोरङ मधुमल्लाका बाढीपीडित भोकभोकै दिन काट्न बाध्य छन् । गत मङ्गलबार बक्राहाखोला गाउँ पसेर घरबार गुमाएका मोरङ मधुमल्लाका बाढीपीडितले अझै राहत पाउन नसक्दा भोकभोकै बस्नु परेका हुन् । आफन्तको शरणमा बसिरहेका बाढीपीडितले सम्बन्धित निकायले सोधखोजसमेत नगरेको भन्दै गुनासो गरेका छन् ।

यही असार १५ गते राति बक्राहाखोलाको बाढीबाट चार दिनअघि ४ वर्षीय छोरासहित घरमा भएको सम्पत्ति सबै गुमाएका मधुमल्ला–५ का दुर्गाबहादुर कार्कीको परिवार राहत नपाएर समस्यामा छन् । छोरा शिशिरलाई गुमाउनु परेको पीडाले उनीहरुको आँखा ओभाएको छैन । एक बिघा जमिन बगरमा परिणत भएको र घरसहित सम्पूर्ण सामग्री बगाएपछि शोकाकुल परिवार आफन्तका शरण लिएर बसेका छन् । दुर्गाको दाहिने घुँडामा गहिरो चोट लागेको छ । आफूहरु पीडामा रहेको अवस्थामा राहत त परै जाओस् सम्बन्धित निकायले सोधखोजसमेत नगरेको पीडित लक्ष्मी थापाले दुखेसो पोख्नुभयो ।

मधुमल्ला–५ कसेनीकी यमुना खड्काको परिवार पनि बिचल्लीमा परेको छ । उनीहरुको एक बिघा जमिनमा असार १५ मा रोपेको धान त्यही रातको बाढीले बगरमा परिणत गरेको छ । भुइँटाढे घर डुबानमा परेपछि उनीहरु अर्काको घरमा शरण लिएर बसेका छन् । दुई ठाउँबाट बस्तीमा पसेको खोलाले चारवटा वडाका १५० घरपरिवार प्रत्यक्ष प्रभावित भएका छन् । जसमध्ये १७ वटा घर पूर्णरुपमा क्षति भएको छ ।
बाढीबाट वडा नम्बर ४, ५, ६ र ८ का गरी ५०० जना पीडित बनेको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । खोला बस्तीमा पसेर खेत बगर बनाएपछि वडा नम्बर ८ को मेचेडागीका केही बासिन्दा बाढीको त्रासले घरमा ताला लगाएर उर्लाबारीतर्फ झरेर बस्न थालेका छन् ।

खोलामा चेनवाला स्काभेटर लगाएर खोला गहिर्‍याउँदै बस्तीपट्टी बालुवाको डिल बनाउने काम भइरहेको छ । तर खोला अग्लो र बस्ती होचो भएकाले समस्या भइरहेको छ । गाउँमा पसेको खोला पुरानै ठाउँमा फर्काउन स्थानीयवासीले प्रयास गरिरहेका छन् । रोप्न ठिक्क पारेको खेतका लागि राखेको बीउसमेत बगाएपछि रोपाइँ गर्न सकिने खेत पनि त्यसै रहने अवस्था आएको स्थानीयवासी नयनसिंह पाण्डेले बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी मोरङले शुक्रबार १०० त्रिपाल पुर्‍याएको जनाएको छ । सोसाइटीका सभापति सुबोध सिंहले सहयोगी संस्थाहरुलाई खाद्य सामग्री उपलब्ध गराउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया