भूकम्प प्रभावित चेपाङ विद्यालयलाई शुभेच्छाको पाँच लाख सहयोग

इनेप्लिज २०७२ असार १९ गते १:२९ मा प्रकाशित

चितवन, १९ असार । नारायणगढको पुल्चोकमा मुख्य कार्यालय रहेको शुभेच्छा विकास बैंकले भूकम्पबाट प्रभावित अन्त्योदय जनजाति आवासीय विद्यालय खैरहनीको भौतिक पुनर्निर्माणका लागि रु पाँच लाख प्रदान गरेको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दक्षप्रसाद श्रेष्ठले शुक्रबार एक कार्यक्रमबीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर बोगटीलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । चेपाङ बालबालिकाको मात्र पढाइ हुँदै आएको सो विद्यालयका विद्यार्थीलाई यसअघि पनि बैंकले पोसाक वितरण गरेको थियो ।

विद्यालयमा चितवनसहित विभिन्न जिल्लाका १४० विद्यार्थी आवासीय रुपमा रहँदै आएका छन् । जसमध्ये कक्षा ८ सम्मका १०२ जना सोही विद्यालयमा अध्ययनरत छन् भने कक्षा ९ देखि १२ सम्मका विद्यार्थी अन्यत्र विद्यालयमा अध्ययन गरी आवासीय रुपमा सोही विद्यालयमा बस्दै आएका छन् ।

विसं २०५६ मा किशोरचन्द्र ढुङ्गानाले आफ्नो निजी लगानीमा सो विद्यालय स्थापना गर्नुभएको थियो । रकम हस्तान्तरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि भरतपुर आँखा अस्पताल, नारायणगढ बजारमा सिसी क्यामरा, बालकुमारी क्याम्पस, नारायणी कला मन्दिर, देवघाटलगायत सङ्घसंस्थालाई सहयोग गर्दै आएको बताउनुभयो ।

प्रतिक्रिया