नदीजन्य वस्तुको सङकलनमा रोक

इनेप्लिज २०७२ असार १७ गते १२:१५ मा प्रकाशित

धनगढी, १७ असार । कैलालीका खोला तथा नदीबाट ढुङ्गा, गिट्टी र बालुवा सङ्कलन एवम् उत्खननमा बुधवारबाट रोक लगाइएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको निर्णयअनुसार असार १६ गतेबाट असोज १ गतेसम्मका लागि रोक लगाइएको जिल्ला विकास समितिका अधिकृत योगेन्द्रबहादुर चन्दले बताउनुभयो । सरोकारवालालाई जानकारी दिई ढुङ्गा गिट्टी र बालुवा नदी तथा खोलाबाट उठाउन नपाउने गरी रोक लगाइएको हो । विसं २०७० साल असारमा सरकारले गरेको निर्णयबमोजिम बर्खायाममा देशभरका नदीनालाबाट यी वस्तुको सङ्कलनमा रोक लगाउने गरिएकामा कैलालीमा भने गत वर्षदेखि मात्रै यो निर्णय कार्यान्वयनमा आएको थियो ।

चुरे क्षेत्रको संरक्षण संवद्र्धन गर्न र नदीजन्य वस्तुको जथाभावी सङ्कलनवाट उत्पन्न हुन सक्ने नदी कटान डुबानलगायत समस्या सिर्जना हुन नदिन सरकारले नदी र खोलाबाट गिट्टी र बालुवाको सङ्कलन एवम् उत्खनन गर्न नपाइने नीति लिएको छ । यी वस्तु सङ्कलन तथा उत्खनन गर्न दिएबापत जिविसलाई वार्षिक रु तीन करोडभन्दा बढी आम्दानी हुने गरेको छ ।

मन्त्रालयको आदेशबमोजिम हरेक वर्ष जेठ मसान्तसम्म विकासका योजना कार्यान्वयन गर्न सम्झौता गर्नुपर्ने भए पनि असार महिना सुरु हुनासाथ गिट्टी, बालुवा लगायत निर्माण सामग्री सङ्कलनमा रोक लगाइने नीतिले विकासका काम अघि बढ्न नसकी समस्या सिर्जना भएकाले मन्त्रालयको स्वीकृतिमा यस वर्ष असारको १६ गतेसम्म यी वस्तु सङ्कलन गर्न दिइएको चन्दले बताउनुभयो ।

विकासका काम प्रभावित हुने देखिएपछि यस वर्ष जिविसले असारमा पनि गिट्टी, बालुवालगायत निर्माण सामग्रीको सङ्कलनको स्वीकृतिका लागि मन्त्रालयमा पत्राचार गरेको थियो । आगामी वर्षदेखि असारभरि यी वस्तुको सङ्कलन गर्ने व्यवस्थाका लागि मन्त्रालयसँग अनुरोध गरिने अधिकृत चन्दले बताउनुभयो ।

प्रतिक्रिया