शुक्रबार, माघ ७ २०७८
काठमाडौं २०:४४
वासिङटन डिसी 09:59

नेपाली किशोरलाई मेन्चेस्टर युनाइटेडमा प्रशिक्षणको अवसर

इनेप्लिज २०७२ असार १७ गते १२:०५ मा प्रकाशित

काठमाडौँ, १७ असार । नेपालका एकजना किशोरलाई युरोपको विश्वविख्यात फुटबल क्लब मेन्चेस्टर युनाइटेडमा फुटबल प्रशिक्षणको दुर्लभ अवसर प्राप्त भएको छ ।

भर्खरै १३ वर्षमा उक्लिएका झापाका डेनियल डेभिड कटुवाललाई त्यस्तो अवसर प्राप्त भएको हो । यसअघि नेपालीले त्यस्तो अवसर पाएका थिएनन् ।

आठ दिनको छोटो तर कडा प्रशिक्षण (मेन्चेस्टर समर क्याम्प) लिन उनी बुधबार लन्डन प्रस्थान गरेका छन् । क्याम्पमा प्रवेश पाएपछि डेनियलले आठै दिन त्यहाँ कडा प्रशिक्षण लिनुपर्नेछ । उनी चर्चित हेयर स्टाइलिस्ट निल डेभिड कटुवालका पुत्रसमेत हुन् । झापा घैलाडुब्बा–९ लक्ष्मीपुरका डेनियलले गत वर्ष २०१४ मा थाइल्यान्ड पुगेर फुटबलको प्रशिक्षण लिएका थिए । डेनियलले थाइल्यान्डको बैंककमा प्रिमियर एकेडेमीमा दुई महिना लामो फुटबल प्रशिक्षण लिएका थिए ।

उनलाई स्कटल्यान्डका कोच केभिनले प्रशिक्षण दिएका थिए । उनी बैंककमै भएको क्रिसमस ट्रफी प्रतियोगितामा समेत सहभागी भएका थिए । प्रतियोगितामा डेनियलले उत्कृष्ट खेल प्रदर्शन गरेर प्रशिक्षक केभिनको मन जितेकाले केभिनले उनको खेलको प्रशंसा गरेका थिए । डेनियल हाल भने फुटबलर राजु शाक्यबाट नेसनल फुटबल एकेडेमी बानेश्वरमा प्रशिक्षण लिइरहेका थिए ।

उनी हाल राजधानीमा बसेर ताहाचलस्थित रुपिज इन्टरनेसनल स्कुलमा कक्षा ८ मा अध्ययन गरिरहेका छन् । ‘फुटबल मेरो लाइफकै सबैभन्दा ठूलो सपना हो । म भविष्यमा फुटबलमै करियर बनाउन चाहन्छु । त्यसका लागि अहिलेदेखि नै अभ्यास गरिरहेको छु । जस्तोसुकै कडा परिश्रम गरेर भए पनि फुटबलमा इतिहास रचेर देशको नामलाई उँचो राख्नेछु’ – डेनियल भन्छन् ।

तीक्ष्ण दिमागका डेनियल फुटबलसँगै अध्ययनमा पनि अब्बल छन् । उनी विद्यालयमा हुने फुटबल खेलका मिड स्ट्र्राइकरका रुपमा स्थापित हुँदै आएका छन् । सानैदेखि फुटबल खेलमा रुची राख्ने डेनियल गाउँमा रहँदा झुम्राको गोल बनाएर फुटबलमा रमाउँथे । “मेरो बाबाले सानो पेसा मानिएको हेयर स्टाइलिस्टलाई रोजेर नेपालमा क्रान्ति ल्याउनुभयो । म पनि उत्कृष्ट फुटबल खेलाडी भएर नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रयास गर्नेछु” – उनको भनाइ छ ।

फुटबलप्रतिको छोराको क्रेजलाई देखेर उनका पिता निल डेभिडले कुनै कसर बाँकी नराख्ने बताए । “म फुटबलको फ्यान होइन र फुटबलमा रुचि पनि छैन । हरेक बच्चामा भगवान्ले एउटा कुनै न कुनै प्रतिभा दिएको हुन्छ जसलाई अभिभावकले बुझ्न सक्नुपर्छ । डेनियल फुटबलमा यति ट्यालेन्ट छ भन्ने मलाई थाहा पनि थिएन । छोराको खेल हेरेँ, साँच्चै नै खेल तारिफयोग्य देखेपछि फुटबल खेलेर उत्कृष्ट खेलाडी हुने उसको सपना पूरा गर्न लागिपरेको छु ।”

पिता निल डेभिडका अनुसार डेनियलले आगामी डिसेम्बर महिनामा इटालीको एक विश्वविख्यात फुटबल एकेडेमीबाट पनि फुटबल प्रशिक्षण लिनेछन् ।

प्रतिक्रिया