मस्यौदाको प्रति च्यात्नु गलत: सञ्चार मन्त्री डा रिजाल

इनेप्लिज २०७२ असार १६ गते ४:५१ मा प्रकाशित

minendra-riajal-300x200पोखरा, १६ असार । सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले संविधानको प्रारम्भिक मस्यौदा मै विरोध गरेर मस्यौदाको प्रति च्यात्नु गलत भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कास्कीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री रिजालले संविधानको मस्यौदा राय सुझावका लागि जनतामा जान्छ र पार्टीको पनि सुझाव लिएर मात्रै नयाँ संविधान जारी हुने भएकाले प्रारम्भिक मस्यौदाको विरोध गर्नु र च्यात्नुमा कुनै तुक नभएको टिप्पणी गर्नुभयो ।

उहाँले नयाँ संविधान जारी गर्न बहुमतले मात्रै नपुग्ने र दुई तिहाइ सभासद्को खाँचो पर्ने र सबै राजनीतिक दलका सभासद्को सहयोगबाटै संविधान बन्ने भएकाले यसलाई सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।

सत्ता लम्बाउने खेलमा नेपाली काँग्रेस नरहेको बताउँदै सञ्चारमन्त्री डा रिजालले संविधानसभाबाट नयाँ संविधान बनाउने काँग्रेसको अभिलाषा ६६ वर्षपछि पूरा हुन लागेकाले पार्टीको महाधिवेशन अगाडि नै नयाँ संविधान जारी हुने र सत्ता छोडिने जानकारी गराउनुभयो ।

सो कार्यक्रम युनियनका सभापति शिरोमणि बरालको सभापतित्वमा भएको थियो ।

प्रतिक्रिया