म को हुँ, कहाँबाट आएको हुँ ?

इनेप्लिज २०७२ असार १५ गते १२:५० मा प्रकाशित

DSC05291-800x532नेपाल भौगोलिक बनौटमा विविधतायुक्त मुलुक हो । विश्वका सम्पन्न मुलुकहरुलाई हेर्ने हो भने तिनीहरुले आफ्नो देशको जैविक विविधताको अधिकतम प्रयोग र व्यापारमा आधुनिकीकरण गर्दै आर्थिक रुपमा सम्पन्न भएका उदाहरणहरु हामीले सुनेका छौ । त्यसैगरी हाम्रो देश नेपालमा पनि हरेकले एकताको भावना राखी आफ्नै देशमा रहेका जैविक विविधतालाई सही सदुपयोग गरी व्यापारलाई आधुनिकीकरण गर्दै अगाडि बढ्न आवश्यक छ । एकताको भावना राखी अगाडी बढ्ने हो भने हामी नेपाली आर्थिक रुपमा सम्वृद्ध हुन धेरै समय लाग्दैन ।

देश सम्वृद्घ हुनका लागि दुई कुराको आवश्यकता त पर्छ नै । राज्य नीतिगत कुरामा स्पष्ट र पारदर्शी हुनुपर्छ भने अर्को हरेक नेपाली जनता अझ विशेष गरी युवावर्ग यतिखेरको समयमा देशमा यो भएन त्यो भएन भनेर दोष थुर्पानु र अब आन्दोलनमा उत्रनु भन्दा त राज्यप्रतिको आफ्नो कर्तव्यप्रति सचेत र इमान्दार हुनुपर्छ । तबमात्र देश विकाशतिर लम्किन्छ ।

 हे युवावर्ग । अब जागौ अगाडि बढौ, स्वयंमानै दया गरौ, आत्मबल बढाऔ ढिला नगरौ ‘हाम्रा प्राकृतिक सम्पदालाई संसार सामु चिनायौ’ आज नभए कहिल्यै हुँदैन, हामीले नगरे कसले गर्ने, जुलुस नारा गर्दैमा र उच्च पदस्थ व्यक्तिलाई गाली गर्दैमा केही हुन सकिरहेको छैन, त्यसैले अब भूल नगरौ । भोलीलाई नपर्खौ, त्यो भोली कहिल्यै नआउने गरी विदा भइसकेको छ । जागौ एकपटक स्वयंलाई जगाऊ । आफैलाई प्रश्न गरौ म को हुँ अनि मेरो कर्तव्य के हो ? म कहाँबाट आएको हुँ ?

आज जसरी विकसित मुलुकहरु विकसित हुनका लागि त्यही देशकै युवावर्गको श्रम, सीप र त्यही देशकै स्रोत, साधनको सही सदुपयोग गरेर विकसित भए त्यसरी नै अब हामी युवावर्गले पनि अन्य खाडी मुलुकमा गएर १८÷१९ घण्टा श्रम, सीप बेच्न जाने जुन मानसिकता वा संस्कार छ । यो खालको मानसिकता वा संस्कारको अन्त्य गर्न अत्यावश्यक छ । यदि हामी विदेशी मुलुकमा जान्छौ भने श्रम, सीप बेच्न जाने होइन की आफ्नो देशको प्राकृतिक स्रोत, साधन लिएर जाआंै । आज राज्य लगायत विश्वले नै जैविक विविधताको प्रयोगबाट नै आर्थिक उन्नति सम्भव छ भनी आर्थिक दशकको घोषणा गरेको अवस्था छ तर व्यवहारमा लागु भएको भने पाइएको छैन् । त्यसै कारण अब हरेकले एकताको भावना राखी स्वदेशी उत्पादनलाई नै प्राथमिकताका साथ प्रयोग गर्ने बानी बसाल्न सक्यौ भने स्वदेशी अर्थतन्त्र बलियो हुने थियो फलस्वरुप हामी नेपाली अझ विशेष शैक्षिक बेरोजगार युवावर्ग विदेशी खाडी मुलुकमा जानु पर्ने थिएन आफ्नै देशमा आत्मनिर्भर हुन सक्छौ ।

विश्वमै सुन्दर शान्त प्राकृतिक सम्पदाको भरिपुर्ण देश नेपाल धार्मिक ग्रन्थले घेरिएको धार्मिक स्थल पशुपतिनाथ हाम्रै देशमा अवस्थित छ । जहाँ विश्वका लाखौ पर्यटक दर्शन गर्न आउछन् । हामीले तिनै पर्यटकलाई नेपालको एक–एक वस्तु बेच्यौ भने पनि धेरै आम्दानी गर्न सक्छौ, आफ्नो देशको वस्तुको गुणको बारेमा पनि उनीहरुलाई जानकारी गराउन सक्छौ । त्यसै गरी संसारको अग्लो ठाँउ सगरमाथा पनि नेपालमै अवस्थित छ, जसकारण सगरमाथा भएको देश नेपाल भनेर संसार सामु चिनिन्छौ, र अथाह जडिबुटि पनि हाम्रै देशमा छन् । दिनप्रतिदिन लोडसेडिङ्ग भोगेपनि जलस्रोतमा पनि अगाडि नै छौ, जनावर, जंगल पनि हाम्रै देशमा छन् तर बिडम्बना यति धेरै मूल्यवान् वस्तु हामी कहाँ हुदाँहुदँै पनि सस्तो श्रमिकको रुपमा विदेशिएका छौ तर आज विश्वले नै प्राकृतिक जीवन बाँच्न चाहिरहेका छन् ।

यी कुराको सोच नभएको त होइन । परम्परागत सोचमा अडिग रहनाले र प्रभावकारी तरिकाले अगाडी नबढ्नाले नै आज नेपाल आत्मनिर्भर नभएर परनिर्भर हुनपरेको छ । त्यसैले प्राकृतिक जीवन जीउन संसारले खोजिरहेको अवस्थालाई मध्यनजर गर्दै प्रभावकारी तरीकाले अगाडी बढ्नु अत्यावश्यक छ । विशेषगरी हामी युवावर्ग एकताको भावना राखी अघि बढ्यौ भने हामी अन्य विकसित मुलुक भन्दा कम हुने थिएनौ, एकैछिन सोचौ त ?

अब पनि हामीले नेताहरुकै आश गरेर बस्यौ भने हाम्रो देशलाई विदेशीले नै कब्जा गर्ने छन् । त्यसैले एकताको भावना राखी अघि बढ्न अब ढिला गर्नु हुँदैन । एकता एउटा शक्ति हो, जसका कारण असंभव कार्य पनि संभव बनाउन पोषण, तागत तथा साहस प्रदान गर्छ । एकताले ठूल्ठूला कार्यहरुलाई पनि सहज बनाइदिन्छ । एकतामा बल हुन्छ । थोरै समयमा धेरै कार्यहरु सहज रुपमा समाप्त गर्न सकिन्छ । समयको बचत अनि सामुहिक फइदा पनि हुन्छ । एकताको सहयोगले अनुभवहरुको रचना गर्न पनि सकिन्छ र कार्यको लागि उत्साह बढाउँछ तथा वातावरणलाई शक्तिशाली बनाउँछ । वास्तवमा एकताको अपनत्वको भावनाको भावनाको निर्माण पनि गर्छ साथै सबै प्रति कल्याणको भावनामा वृद्घि गर्छ ।

जुन तरिकाले संगितकारले गितारको हरेक तारहरुले लयलाई बुझेको हुन्छ । एक अर्काको आवाजको सहयोग नलिई एउटा मात्र तारबाट राम्रो लय निकाल्न खोज्दा त्यसको कुनै अर्थ रहँदैन भने जस्तै समुहमा पनि हरेकको भाव स्वभावलाई बुझेर सबैको स्वभावलाई मिलाउन जानेमा अत्यन्तै सही तरिकाले कार्य गर्न सकिन्छ । त्यो कार्य नै स्थायी तथा फलदायी हुन्छ ।

त्यसर्थ हे युवावर्ग । अब जागौ अगाडि बढौ, स्वयंमानै दया गरौ, आत्मबल बढाऔ ढिला नगरौ “हाम्रा प्राकृतिक सम्पदालाई संसार सामु चिनायौ” आज नभए कहिल्यै हुँदैन, हामीले नगरे कसले गर्ने, जुलुस नारा गर्दैमा र उच्च पदस्थ व्यक्तिलाई गाली गर्दैमा केही हुन सकिरहेको छैन, त्यसैले अब भूल नगरौ । भोलीलाई नपर्खौ, त्यो भोली कहिल्यै नआउने गरी विदा भइसकेको छ । जागौ एकपटक स्वयंलाई जगाऊ । आफैलाई प्रश्न गरौ म को हुँ अनि मेरो कर्तव्य के हो ? म कहाँबाट आएको हुँ ?

प्रतिक्रिया