सञ्चारमन्त्रीद्वारा भूकम्पपीडित पुनःस्थापना केन्द्रको अवलोकन

इनेप्लिज २०७२ असार १५ गते १२:०१ मा प्रकाशित

Rss_Images_1435651700247_BM-Ktm-information ministerपोखरा, १५ असार । सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले आज पोखराको नयाँबजारस्थित तमु धी नेपालले भूकम्पपीडितका लागि स्थापना गरेको पुनःस्थापना केन्द्रको अवलोकन गर्नुभयो ।

गत वैशाख १२ गते गएको भूकम्पले गोरखाका विभिन्न गाविसमा धनजनको ठूलो क्षति पु¥याएपछि त्यहाँ घाइते भएका भूकम्पपीडितलाई तमु धी नेपालको पहलमा पुनःस्थापना केन्द्र स्थापना गरी पालनपोषण भइरहेको छ ।

सो जिल्लाका विभिन्न गाविसबाट हालसम्म ९०० जनालाई पालनपोषण गरिएको र अहिले पनि ७३ जना बालबालिका, सुत्केरी र वृद्धवृद्धा रहेका छन् ।

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री डा रिजालले तमु धी नेपालले भूकम्पपीडितका लागि गरेको यस सहयोगको सराहना गर्नुभयो ।

उहाँले राज्यले गर्नुपर्ने ठाउँमा एक गैरसरकारी संस्थाले भूकम्पपीडितलाई ठूलो सहयोग गरेकोमा धन्यवाद दिँदै सरकारले तमु धीको हरेक कार्यमा सहयोग गर्ने वचन दिनुभयो ।

भूकम्पबाट पीडित जनताका लागि पुनःस्थापना र पुनःनिर्माणमा सरकार सदैव साथ रहेको बताउँदै उहाँले भूकम्पले बस्नै नहुने ठाउँबाट अर्को उचित ठाउँमा स्थानान्तरण गर्न सरकारले पहल गरिरहेको जानकारी दिनुभयो ।

तमु धी नेपालका अध्यक्ष कर्म तमुको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया