माछाले धानेको छ सहनीको परिवार

इनेप्लिज २०७२ असार १५ गते ११:१७ मा प्रकाशित

सुरुङ्गा (झापा), १५ असार । झापाको राजगढ– ६ का ६५ वर्षीय कृष्णदेव सहनी अहिले ६५ वर्षको हुनुभयो । स्थानीय पशुपति उच्च माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययन गर्दा उहाँले माछा मार्न थाल्नु भएको हो । सहनीले माछा मार्न थाल्नुभएको झन्डै ५५ वर्ष भयो ।

बुबाको देखासिकी गरेर विरिङ, अदुवा, घाग्रालगायतका खोलामा माछा मार्न सुरु गर्नुभएको उहाँको अहिले माछा मार्ने काम प्रमुख पेसा नै भएको छ । मारेका माछा बिक्रीको कमाइले पूरै परिवार धान्नु आफ्नो बाध्यता भएको उहाँले बताउनुभयो ।

अर्को पेसा नभएकाले पुख्र्यौली पेसा अङ्गालेको छु भन्दै उहाँले भन्नुभयो –‘यही कमाइले परिवार पाल्दैछु ।” सहनीका श्रीमती इन्दुसहित अहिले चारजना छोरा छन् । उनीहरु पनि कृष्णदेव जस्तै खोलामा माछा मार्न जाने गरेका छन् । माछा मारेको कमाइले उनीहरुको छजनाको परिवार चलेको छ । विरिङ, घाग्रा, अन्धुवालागायतका खोलामा माछा मारेर बिक्री गर्ने र त्यसबाट आएको रकमले खाद्यान्न र लत्ताकपडा जुटाउने बाहेक विकल्प छैन, हाम्रो घर नजिकै माछा मार्न प्रयोग गरिने जाल बुन्दै गर्दा भेटिनुभएका उहाँले आफ्नो दुःखेसो सुनाउनुभयो ।

खोलामा दिनभर मारेको माछा स्थानीय बजार राजगढ, चकचकी, जन्ता, भागुडुब्बामा उहाँले बेच्ने गर्नुभएको छ । मर्ने बाँच्ने टुङ्गो हुँदैन वर्षा लाग्यो खोलो उर्लेर आउँछ, नगरु त अरु काम जानेको छैन ‘गरु त शरीर बुढो भयो गुजारा चलाउन भए पनि माछा मार्नु हाम्रो बाध्यता हो –उहाँले थप्नुभयो ।’

नजिकै रहेको भारतीय बजार दीघलबाट माछा मार्न प्रयोग गरिने जाल बनाउन आवश्यक पर्न नाइलनको डोरी र फलामका गोट्टी ल्याएर उहाँ बिहान÷बेलुका जाल बुन्ने गर्नुहुन्छ । मारेका माछा श्रीमती र छोराहरुले स्थानीय बजारमा बेच्न सघाउने गरेको सहनीले बताउनुभयो । झन्डै सातदेखि दस दिनसम्म लगाएर बुनेको जाल उहाँले स्थानीय बजारमा नै बेच्ने गर्नुभएको छ । उहाँले बुनेको जाल रु पाँच हजार सम्ममा बिक्री हुने गरेको छ ।

“हाम्रो त लेखान्त नै खोटो रहेछ माछा मारेरै आफूपनि मर्ने भइयो माछा मार्नकै लागि जाल बुन्दैछु” बुन्दै गरेको जाल देखाउँदै उहाँले भन्नुभयो–“अहिले खोलामा पानी बढेकाले घरमै बसेर जाल बन्दैछु यही बेचेर घरखर्च चलाउनु पर्ला ।”

सहनी मात्र होइन राजगढका झन्डै दुईदर्जन भन्दा बढी घरपरिवारका मानिस माछा मारेरै गुजारा चलाउने गरेको स्थानीय यामप्रसाद तिम्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो –‘मैले जान्दादेखि कृष्णदेवलगायतका यहाँका माझी समुदायका मानिस माछा मारेरै जीविकोपार्जन गर्दै आएका छन् ।

यता राजगढ गाविस सचिव तेजप्रसाद रेग्मीले २०५८ सालको जनगणना अनुसार नेपालमा माझीको कूल जनसङ्ख्या ७२ हजार ६१४ रहेको र माझी भाषा बोल्ने जनसङ्ख्या २१ हजार ८०० मात्र रहेको बताउनुभयो ।

प्रतिक्रिया