नयाँ संविधानमा अपाङ्गता भएका नागरिकको अधिकार सुनिश्चित गर्न पहल गर्छु: सभाध्यक्ष नेम्वाङ

इनेप्लिज २०७२ असार १४ गते ९:२८ मा प्रकाशित

Subash-Nembangकाठमाडौँ, १४ असार । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले नयाँ संविधानमा अपाङ्गता भएका नागरिकका अधिकार सुनिश्चित गर्न आफूले सक्दो प्रयत्न गर्ने बताउनुभएको छ ।

सभाध्यक्ष नेम्वाङलाई ज्ञापनपत्र बुझाउन पुगेका राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका प्रतिनिधिलाई उहाँले संविधान सबै तह र क्षेत्रको साझा दस्तावेज भएकाले सबैको अधिकार पूर्णरुपमा समावेश हुन नसके पनि केही अधिकार प्राप्त हुने बताउनुभयो ।

उहाँले सबै दलको साझा सहमतिका रुपमा संविधान आउन लागेकाले यसले सबैको अधिकार सुनिश्चित गर्ने र मुलुकलाई नयाँ राजनीतिक दिशामा लैजाने बताउनुभयो ।

विसं २०६२÷६३ को जनआन्दोलनमा अपाङ्गता भएका नागरिकले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै उहाँले निरन्तरको पहल र प्रयत्नले संविधान लेखनको कामले पूर्णता पाउन लागेकाले त्यसमा सबैको प्रतिनिधित्व हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले संविधान लेखन प्रक्रियालाई पूर्णतामा लैजान दलहरुले खेलेको भूमिका प्रशासनीय रहेको र त्यसमा अपाङ्गता भएका नागरिकको भूमिका पनि उल्लेखनीय रहेको बताउनुभयो । सभाध्यक्ष नेम्वाङले संविधान हिमाल, पहाड र तराईको साझा दस्तावेज भएकाले यसले सबैलाई लोकतान्त्रिक मार्गमा हिँड्न प्रेरित गर्ने उल्लेख गर्नुभयो ।

महासङ्घले कुल जनसङ्ख्याको ३० लाखको सङ्ख्यामा रहेका अपाङ्गता भएका नागरिकलाई केन्द्रीय प्रतिनिधिसभामा समानुपातिक सिटका लागि छुट्टयाइएको ४० प्रतिशतमध्ये आफूहरुलाई पाँच प्रतिशतको आरक्षण गरी राष्ट्रिय सभा र प्रान्तीय प्रतिनिधिसभामा सोही अनुपातमा सिट सुरक्षित गर्न माग गरेको छ ।

राज्यको मूलप्रवाहमा पछाडि पारिएका समुदाय तथा क्षेत्रको उचित प्रतिनिधित्व हुने व्यवस्था गर्नसमेत महासङ्घले माग गरेको छ । महासङ्घले सभाध्यक्ष नेम्वाङसमक्ष तीन बुँदे ज्ञापनपत्र पेस गरेको अध्यक्ष सुदर्शन सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया