चितवनका नौ विद्यालय गाभियो, बीस विद्यालयको कक्षा घटाउने निर्णय

इनेप्लिज २०७२ असार १३ गते ९:३१ मा प्रकाशित

Chitwan_district_locationरत्ननगर (चितवन), १३ असार । जिल्ला शिक्षा कार्यालय चितवनले यस वर्ष जिल्लामा सञ्चालित विद्यालयहरुमध्ये नौवटा विद्यालयलाई गाभेको छ । अन्य २० विद्यालयको भने कक्षा घटाएको छ ।

विद्यार्थी कम भएका र भौतिक पूर्वाधार नपुगेका नौवटा विद्यालय गाभेको र २० विद्यालयको कक्षा घटाएको जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले जानकारी दिनुभयो ।

समितिको निर्णयअनुसार चितवनको नवज्योति राप्राविलाई कृष्णपुर माविमा, पञ्चदीप राप्राविलाई पञ्चकन्या उच्चमाविमा, राप्रावि मैनाहालाई चित्रसारी माविमा र राप्रावि फर्सेनीलाई राप्रावि सलौलीमा गाभिएको हो ।

यस्तै, दुर्गाभवानी राप्राविलाई खैरहनी उच्च माविमा, सरस्वती राप्रावि सुर्तनालाई राप्रावि मझुईमा, निजानन्द राप्राविलाई पञ्चकन्या माविमा, प्रावि आनन्दपुरलाई लंकु उच्चमाविमा सारिएको छ । राप्रावि वीरेन्द्रनगर पटिहानीलाई चेतावनी दिएपछि कक्षा सुधार गरेकाले यथावत राखिएको छ ।

शिक्षा निर्देशिका अनुसार ३५ विद्यार्थीभन्दा कम विद्यार्थी भएका विद्यालयलाई गाभ्ने नीति रहेकाले ती विद्यालय गाभिएको र गाभिएका विद्यालयमा बाल विकास केन्द्र भने यथावत् राख्ने निर्णय भएको जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले जानकारी दिनुभयो ।

अन्य २० वटा विद्यालयको हकमा भने ५ कक्षाबाट ३ कक्षामा झारिएको जिल्ला शिक्षा कार्यालय चितवनले जानकारी दिएको छ । जिल्लाका पहाडी क्षेत्रका विद्यालय भने यथावत् छन् ।

यसअघि विद्यालयमा विद्यार्थी कम भएको भनेर शिक्षा कार्यालयले १५४ विद्यालयलाई पत्राचार गरेकामा अन्यले भने पूर्वाधार पु¥याएको छ । चितवनमा निजीसहित कुल ५५९ विद्यालय सञ्चालित छन् ।

प्रतिक्रिया