भूकम्पपीडितलाई ग्यास र चुलोको अभाव

इनेप्लिज २०७२ असार १३ गते ४:४९ मा प्रकाशित

Two_Burner_-Gas_-Stove_-MAGICधुन्चे(रसुवा), १२ असार । भूकम्पपछि घर ध्वस्त भएका र बसोबासका जमिन चिरा परी विस्थापित परिवारलाई खाना पकाउने ग्यास चुलोको अभाव भएको छ ।

रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङका अनुसार बर्खायाम सुरु भएका कारण दाउराको अभावले बिहानबेलुका खाना पकाउन समस्या भएको छ । दाउरा उपलब्ध भए पनि बासस्थानका लागि राखिएको त्रिपालभित्र आगो बाल्न नमिल्ने भएकाले ग्यास चुलो र सिलिन्डर उपलब्ध गराइदिन दातामाझ आग्रह गरिएको छ ।

हाकु, डाँडागाउँ, ठूलोगाउँ, स्याफ्रु, लाङटाङसमेतका मानिस विस्थापित भएका छन् । जिल्लाभित्र भएका ९९ प्रतिशत अर्थात् ११ हजार घर ध्वस्त छन् । सबै परिवारको बास बारीको पाटामा त्रिपालभित्रै छ ।

उद्योगको मर्मत
धुन्चे गाविसमा सञ्चालित वानटप नामक पानी उद्योग उञ्चालन गराउन मर्मत सुरु भएको छ । सो उद्योगका प्रबन्धक प्रमोद देवका अनुसार गत वैशाख १२ गतेको भूकम्पले उद्योगको कारखाना र विद्युतीय उपकरणमा क्षति भएका कारण दुई महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ मर्मत सुरु गरिएको हो ।

स्वचालित उपकरणसँग दैनिक ४० हजार बोतल पानी उत्पादन गर्ने क्षमता छ । सो उद्योगले दक्षिण कोरियामा समेत पानी निर्यात गर्दै आएको उद्योग प्रशासनले जनाएको छ ।

प्रतिक्रिया