अर्बुद हेरचाह केन्द्र सञ्चालनका लागि दश लाख

इनेप्लिज २०७२ असार १३ गते ४:४४ मा प्रकाशित

गोलबजार (सिरहा), १३ असार । लहानमा गत वर्षदेखि सञ्चालित अर्बुदरोग हेरचाह केन्द्र सञ्चालनका लागि नेपाल अर्बुद रोग निवारण संस्थाले रु १० लाखको अक्षयकोष स्थापना गरिदिएको छ ।

पूर्वाञ्चल क्षेत्रका बिरामीलाई लक्ष्य गरी केन्द्र सञ्चालन गरिएको हो । अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष ईश्वर श्रेष्ठले शनिबार केन्द्र व्यवस्थापन समितिका अध्यक्ष अशोक अमात्यलाई कोष रकमको चेक हस्तान्तरण गर्नुभयो । अर्बुद रोग निवारण संस्था भक्तपुरको सहयोग र लहान नगरपालिकाले भवन उपलब्ध गराएपछि गत वर्षदेखि केन्द्र सञ्चालनमा आएको हो ।

अक्षयकोष रकम प्राप्त भएपछि स्टाफ नर्स र परिचर राखेर नियमित रुपमा केन्द्र सञ्चालन गरिने अध्यक्ष अमात्यले जानकारी दिनुभयो । उहाँका अनुसार सो केन्द्रबाट एक वर्षमा १८९ बिरामीले उपचार सेवा लिएका छन् ।

प्रतिक्रिया