‘देश मरे पनि म बाँची राखु’

इनेप्लिज २०७२ असार १२ गते १२:५१ मा प्रकाशित

USA-Flag

खोसेको रोटीले मेरो पेट भरिन्न ।

मागेको धोतीले मेरो लाज छोपिन्न ।।

घोटिएर हातपात भरिजाउन औला ।।। 

तर, कोही अगाडि यी हात जोडिन्न ।।।। 

गोपाल योञ्जन, संगीतकार गायक

भारतमा भीख मागेर मान्छेहरु करोडपति बनेको उदाहरण छन् । नेपालको काठमाडौंमा पनि भिख मागेर चारतले घर हालेको खबर एक महिनाअघि मात्र सार्बजनिक भएको थियो । नेपाल सरकार पनि भीख मागेर देशको नव निर्माण गर्ने दाउमा छ । दाताले प्रदान गरेको ४ सय अर्बमा कसका के-के दाउ छन् ? त्यो त हेर्दै जाउँला तर, खरानीको जगमा भवन निर्माण गर्न दाताले दिएको सहयोग प्रति नेपालीले आभार प्रकट गर्छौ ।

हुन त मरेपछि फुलमाला र चन्दनमा जल्नुले त्यति अर्थ नराख्ला । भन्न खोजेको, मरेका शरीरहरु ब्यबस्थित ढंगबाट गाड्न पनि सकिएन । बाँचेकाहरुले पेट भर्न पाएनन, मरेकाहरुले खाल्डो पाएनन । मरेका लासलाई पुर्ने खाल्टो खन्न पनी विदेशी आए । 

मैले यहाँ लेख्दै छु । मति बिग्रेका नेता र नेतृत्वको माग्ने शैली । अनि आफ्नै दुनो सोझ्याउने काइदाबारे । ताकी दाताबाट आएको रकम त्यसो नहोस् । बालकृष्ण समले लेखेको एउटा कविताको हरफ उल्टाए, सुल्टाई सम्झे । सायद, १० कक्षामा पढे क्यारे उनको ‘इच्छा’ कविता । लेखेका थिए, ‘नेपाली गण्डकीको तिरमा नेपाली श्रीखण्ड र चन्दनले जल्न पाउ, अर्काे जन्म पाए भने नेपाली भएर जन्मिन पाउ ।’ तर, सियोदेखि मर्दा बेरिने कात्रो र दागबत्ती दिने श्रीखण्ड, चन्दन पनि बिदेशबाट मगाउनु पर्ने हाम्रो अवस्था छ ।

भूकम्पमा परि निधन भएका सिन्धुपाल्चोक, गोरखा र रसुवाका धेरै नेपालीले एउटा कात्रो पनि पाएनन् । गण्डकीका बगरमा श्रीखण्ड र चन्दनमा जल्ने कवि समको जस्तो इच्छा उनीहरुको पनि हुँदो हो । उनीहरुको मृत शरीरले, पाँच फिटको खाँडल पाएनन्, श्रीखण्ड र चन्दन त परको कुरा । हुन त मरेपछि फुलमाला र चन्दनमा जल्नुले त्यति अर्थ नरहला । भन्न खोजेको, मरेका शरीरहरु ब्यबस्थित ढंगबाट गाड्न पनि सकिएन । बाँचेकाहरुले पेट भर्न पाएनन, मरेकाहरुले खाल्डो पाएनन ।

मरेका लासलाई पुर्ने खाल्टो खन्न पनि विदेशी आए । हामी हेरिरह्यो मुखदर्शक बनेर । बिदेशीले दुईचार वटा त्रिपाल दिए मानवीयता सम्झेर । उनीहरुले सक्ने दिए । कुहिएका चामल हुन या फाटेका कपडा । जे दिए पनि त्यो ठूलो सहयोग बन्यो हाम्रा लागि । मरेका नागरिकको लास, आफन्तको रोधन देखाएर हात पसारेर थापेको भीख पनि लुकाइवरी बाँडिचुडी खानसम्म भ्याए । पालमा २५ करोडको भ्रष्टचार भयो । तै पनि हामी स्वाभिमानी नेपाली भन्न छाड्दैनौ । कतिले दयाले दिएका एक थान पाल र भुजाका गेडामा राजनीति गरे । अब फेरि दाताले दिने ४ सय अर्बमा कति राजनीति र भ्रष्टचार गर्लान ?

हाम्रो शरीरका छाला, मासु र रगतमा नेपाली पन छ । सामसुङ मोबाइलको एउटा ब्याट्रिमा लेखेको थियो, फिनिसिङ चाइना मेड इन कोरिया । यसै प्रसङ्गमा जोडेर भन्न मन लाग्छ, ‘हामी नेपाली पनि फिनिसिङ नेपाल, मेड इन इन्डिया, साउदी, कतार र अन्य मुलुक ।’ क्या बात छ ।

देशले नेपाली पन, एउटा शरीर, खाने मुख र हातखुट्टा दिए पनि देशमै नंग्रा खियाउने वातावरण बनाउन देश चुक्यो । नेतृत्व चुक्यौ, सरकार चुक्यो । स्वीजरल्याण्ड बनाउँछु भन्नेहरु आज कहाँ छन् पत्तो छैन । हाम्रो शरीर, मन, मुटु र भावना नेपाली छ । तर कालो पक्ष शिरदेखि पाउसम्म सियोदेखि कात्रोसम्म विदेशी । मागेको त्रिपाल र कात्रोको जगमा कसरी नयाँ नेपाल बन्ला ?

मरेका नागरिकको लास, आफन्तको रोधन देखाएर हात पसारेर थापेको भीख पनि लुकाइवरी बाँडिचुडी खानसम्म भ्याए । पालमा २५ करोडको भ्रष्टचार भयो । तै पनि  हामी स्वाभिमानी  नेपाली भन्न छाड्दैनौ । कतिले दयाले दिएका एक थान पाल र भुजाका गेडामा राजनीति गरे । अब फेरि दाताले दिने ४ सय अर्बमा कति राजनीति र भ्रष्टचार गर्लान ?

ए स्वाभिमानको भजन गाउनेहरु हो, मर्दा बेरिने कात्रोसम्म आफ्नै देशमा बनाउन नसक्नु के तिम्रो स्वाभिमान हो ?, सधै मरुभुमीको बालुवामा सुइया सुस्केरा फेर्दै पसिना बेच्नु, बिदेशी गल्लिमा खच्चड बन्नु स्वाभिमान हो ? यो स्वाभिमानको पनि कति छाती पोल्दो हो ? हाम्रो राष्ट्रवादलाई देखेर ।

केही समय अगाडि नेपाली झण्डा छाँतीमा टाँसेर देशको इज्जत राख्न साफ गेममा आएका खेलाडी कोरियामै लुके । उनका एक जना भाई मेरो साथी थिए । गुरुङ थरका ती साथीले भने, ‘खेलाडी बनेर आउन धेरै पैसा खर्च भाछ काम खोज्न सहयोग गर्नु प¥यो ।’ गरिब परिवारका ती खेलाडीले भर्खर बिहे गरेका रहेछन् । अनी मैले फेसबुकमा लेखिदिए, ‘भागेका नेपाली खेलाडीलाई काम चाहिएको छ, काम भए खवर गरौँ ।’ केही छिनमा राष्ट्रिय बेइज्जतको आक्रोसमा संयौँ कमेण्ट आए । शिरमा देश जिम्मेवारीको कफन बाँध्ने मन्त्री, कर्मचारी, सेना, प्रहरी, देशको कानुनलाई जुत्ताको तलुवामा बाधेर जिम्मेवारी बिर्सनु नै राष्ट्रियता हो ? झण्डाको स्कट बनाएर (¥याम्पमा हिड्नु हो राष्ट्रियता ? सोंच किताब लेखेर फेवातालको जग्गा अतिक्रमण गर्नु राष्ट्रियता हो ?

धेरै लिपुहरु अतिक्रमण भएका छन् । देशको छाती बिदेशीलाई परेड खेल्ने अनुमति दिएका छौँ । हामीमा हुर्कदै गएको राष्ट्रबादले भन्छ, ‘देश मरे पनि म बाँची राखु ।’ राष्ट्रबादी कवि कालीप्रसाद रिजालको गीत उल्टाउदा खिन्न लागिरहेछ आज । यही गीत सुन्दा छाती ढक्क फुलेर आउँथ्यो । म मरे पनि मेरो देशबाँची राखोस् ।

‘हामी नेपाली पनि फिनिसिङ नेपाल, मेड इन इन्डिया, साउदी, कतार र अन्य मुलुक ।’ क्या बात छ ।

कमजोर राष्ट्रिय नीति, उत्पादन र प्रयोगबारे राष्ट्रिय कार्यक्रम र योजना छैन । बिदेशीले के देला भनेर हात थाप्दै मागेर देश चलाउनेहरुले देशका सम्भावना हेरेनन् । देश सधैँ परजीवि बन्यो । नागरिकले पनि त्यही सिके । दिएको खाएर कति दिन पुग्छ ?

राष्ट्रियता बाहिरा देखाउने तर भित्र देशलाइ छुरा हान्ने । हाम्रो राष्ट्रियता हाम्रो बसमा छैन । भोकै बसेर पनि स्वाभिमानी बनेका, देशलाइ नझुकाएका पुर्खाको स्वाभिमान नामेट छ । राष्ट्रियता ओडेर देश लुट्ने र हरेराम हरे कृष्णका पहेलो कपडा ओडेर बलात्कार गर्ने नक्कली साधुहरु जस्तै बन्यो हामी ।

मलाई कोरियनहरुको राष्ट्रियता देखेर इश्र्या लाग्छ । उनीहरु सकेसम्म देशमै उत्पादन भएका चीज प्रयोग गर्छन् । परम्परागत खानाको अनिवार्य उत्पादन र प्रयोग गरिन्छ । एक दिन कोरियाको रेलमा हिँड्दै थिएँ । एक प्रोफेसरसँग भेट भयो । मैले जिज्ञासा रखे, ‘सबैभन्दा बढी केलाई माया गर्नुहुन्छ ।’ उनले भने, ‘मेरो देशलाई ।’ उनीहरु देशलाई औधी माया गर्छन, करभ्याट तिर्छन । देशलाइ घाटा पार्ने काम गर्दैनन् ।

कोरियालीहरुले आफूले कमाएको रकमको केही प्रतिशत रकम सरकारी कोषमा हाले । सरकारले पनि नागरिकबाट ऋण माग्यो । बाटो, रेल, मेसिन, प्रविधि बने । बिकासमा नागरिकका सम्पत्ति र उपयोगी चीज बने । बिदेशमा फिरेकाहरु पनि सीप सिकेर देश मै आए । ६० वर्ष पहिले अरबमा ज्यान पाल्न पुगेका कोरियनहरु, अहिले गरिब देशका दस लाख बढी नागरिकलाई रोजगार दिने सामथ्र्य राखेका छन् । बिश्वको अर्थतन्त्रमा १० औं शक्तिशाली राष्ट्रका रुपमा आफूलाई उभ्याए । देश बन्न नागरिक र नेतृत्वमा राष्ट्रवादको छाल उठ्नुपर्छ । आफू रोएर पनि देश हसाउने तिब्र चाहना हुने हो भने देश बन्न धेरै दिन कुर्नु पर्दैन । यसको साँची कोरिया नै छ ।

झण्डा ओड्नु, नेपाली भाषा खरर बोल्नु मात्र राष्ट्रियता होइन । उसो त कङ्गोका सेरि पनि खरर नेपाली भाषा बोल्छन । क्रिश्चियन प्रचारक कोरियन महिलाहरु पनि बोल्छन् । राष्ट्रियतालाई देखाउने दाँत नबनाऔँ । यथार्थमा हामीले देश भन्दा पनि आफ्नो स्वार्थसिद्धमा अगाडि बढिरहेका छौँ । यसो नहुँदो त, राष्ट्रघाती सम्झौता गरिने थिएनन् होला, दुई चार हजारमा नेपाली चेली बेचिने थिएनन् होला ।

दक्षिण कोरिया

प्रतिक्रिया